प्राविधिक, रोजगारमूलक र गुणस्तरीय शिक्षालाई प्राथमिकता दिन त्रिविलाई प्रधानमन्त्री ओलीकोआग्रह

94

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले बजारले माग गर्ने प्रकारको जनशक्ति उत्पादनमा त्रिविले आफूलाई केन्द्रित गरेर शैक्षिक कार्यक्रम ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेका छन् ।

विश्वविद्यालय सभाको ६० औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राविधिक वैज्ञानिक, रोजगारमूलक र गुणस्तरीय शिक्षालाई विशेष प्राथमिकता दिन आह्वान गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘शिक्षण संस्थालाई पवित्र मन्दिरका रुपमा विकास गर्नुपर्छ । जायज कुराका लागि कसैसँग शिर झुकाउनु पर्दैन । नाजायज कुरा कसैले पनि गर्नु हुँदैन । अनावश्यक कुराका लागि कुनै प्रभावमा नपर्नुहोला । त्यस्तो लबिङ सुनिँदैन ।’

त्रिविका कुलपतिसमेत रहेका उनले त्रिवि विश्वका उत्कृष्ट १ हजारभित्र र एशियामा उत्कृष्ट ३०० भित्र पर्न सफल भएकामा खुशी व्यक्त गर्दै बजारले माग गर्ने प्रकारको जनशक्ति उत्पादनमा त्रिविले आफूलाई केन्द्रित गर्नुपर्ने जनाए ।

प्रधानमन्त्री ओलीले भने,’शिक्षा क्षेत्र सामाजिक परिवर्तन र आवश्यकताअनुरुप प्रभावित हुँदै आउने भएकाले वर्तमान समयमा शिक्षाको तौरतरिका, माध्यम र शिक्षा प्रवाहका क्रममा व्यवस्थापन गर्नुपर्ने शैक्षिक वातावरणप्रति हाम्रो ध्यान केन्द्रित हुन जरुरी छ ।’

सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति गिरिराजमणि पोखरेलले विश्वविद्यालयको नेतृत्वले आफ्ना कमजोरी र त्रुटिको समीक्षा गर्नुपर्ने बताउँदै सङ्घीय र प्रादेशिक विश्वविद्यालयको वर्गीकरणपछि नयाँ ढङ्गले अघि बढ्नुपर्ने आग्रह गरे । मन्त्री पोखरेलले भने, ‘विश्वविद्यालय अब हिजोको तरिकाबाट चल्दैन । यो प्रतिस्पर्धी, सक्षम र उत्पादनशील जनशक्ति उत्पादनमा लाग्नुपर्छ ।’

विश्वविद्यालयका उपकुलपति प्रा डा। तीर्थराज खनियाँले त्रिविले आफ्ना उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियरुपमा प्रतिस्पर्धी, अनुसन्धानमुखी, उत्पादनमुखी बनाउन समयानुकूल पाठ्यक्रम निर्माण र परिमार्जनका लागि प्राथमिकता दिएको बताए । शिक्षाध्यक्ष प्रा डा। सुधा त्रिपाठीले त्रिविमा व्याप्त रोगको उपचारका लागि दरो इच्छाशक्ति र निर्भीकता बोकेको व्यक्तिको खाँचो छ भने ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले त्रिविको नवनिर्मित उपकुलपतिको कार्यालय उद्घाटन गरेका थिए । बैठकमा रजिष्ट्रार डिल्लीराम उप्रेतीले प्रस्तुत गरेको ५७ औँ ग्रेस लिष्ट पारित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here