काठमाडौं / पत्रकार किशोर सेढाई पुत्रशोकमा परेका छन् । अष्ट्रेलियामा व्याचलर इन कम्प्युटर इन्जिनियरिङ पढ्दै गरेका उनका छोरा स्वदेश सेढाईले आत्महत्या गरेपछि काठमाण्डौंमा रहेका सेढाईको परिवार शोकाकुल भएको छ ।
२ वर्षभन्दा पहिले अष्ट्रेलिया पढ्न गएका स्वदेशले यही जुलाई ११ को राति आत्महत्या गरेको जनाइएको छ । सिड्नीस्थित युनिभर्सिटी अफ टेक्नोलोजि सिड्नीमा कम्प्युटर इन्जिनियरिङ पढ्दै गरेका उनले एक हप्ता अगाडि आफ्ना पिता किशोर सेढाईसँग पढाईको विषयमा फोनमा केही छलफल गरेका थिए ।
पोखराका नेपाली परिवारसँग अर्पाटमेन्टमा संगै बसेका उनी सो साँझ पनि राम्रैसँग कुराकानी गरेर आफ्नो कोठामा सुत्न गएको तर विहान नियमित समयमा नउठेपछि उनको खोजी गर्ने क्रममा पासो लगाएर आत्महत्या गरेको अवस्थामा उनी भेटिएको जनाइएको छ ।
उनको मृत्युपछि गैरआवासीय नेपाली संघ, झापा समाज अष्ट्रेलिया र आफन्तहरुले कानुनी प्रक्रिया पूरा गरी उनको शव नेपाल पठाउन पहल गरिरहेको जनाइएको छ । पत्रकार सेढाईलाई पर्न गएको यो शोकप्रति जनधारणा साप्ताहिक र स्वाभिमान डटकम परिवार गहिरो समवदेना व्यक्त गर्दछ ।

















