काठमाडौं / देशका तराई-मधेसका भूभाग डुबानले हजाराौँ नागरिकको बिचल्ली भइरहेको अवस्थामा एकजना पूर्वसभासदले कडा प्रतिक्रिया दिएका छन्। नेकपा माओवादीबाट संविधानसभा सदस्य बनेका अशोक जयसवालले भारतीय बाँधका कारण नेपाली भूभाग डुबिरहँदा चुप लागेर बस्न नसकिने प्रतियक्रिया दिएका हुन्।
पूर्वसभासद जयसवालले भारतविरुद्ध कडा प्रतिक्रिया दिँदै जनस्तरबाट प्रतिरोध गर्नुपर्ने बेला आइसकेको जनाए । बाँधका कारण रौतहटको गौर र जिल्लाको अधिकांश भाग डुब्दा पनि भारतीय सीमा सुरक्षा बलले रमिता हेरेको दाबी उनले गरेका छन्।
उनले सामाजिक सञ्जाल मार्फत लेखेका छन् – ‘गौर र रौतहट बाढीले डुबेको बेला छिमेकी मुलुक भारतको एसएसबी फोर्सले दशगजा बाँधमा पहरा दिइरहेको थियो। पानीको निकास बन्द गरिराखेको दृश्य छतबाट देखिरहेका थिएँ । उनले भनेका छन्, ‘यसरी गौर जलमग्न भएको देख्दा मन रोइरहेको थियो। पानीको स्वाभाविक बहावलाई रोकेर छिमेकी मुलुकको जनतालाई मार्नु तथा दुख दिने प्रवृति मेरो विचारमा यो भारतको कसाई प्रवृति हो।’
उनले भारतको यो प्रवृत्तिलाई विस्तारवादको संज्ञा दिँदै उसविरुद्ध सबैले आवाज उठाउनुपर्ने पनि जोड दिएका छन्। ‘यस सन्दर्भमा म भारतीय विस्तारवादलाई मुर्दावाद भन्न चाहन्छु । यस्ता छिमेकीको दलाली एवम् चापलुसु गरेर मधेस र नेपालको हित एवम् समृद्धिको कुरा गर्नु सिद्धा लफ्फाजी गफ हुने स्वतःसिद्ध छ’, उनले भनेका छन्, ‘त्यस्ता दलालहरूबाट सावधान रहनुपर्छ। नेपालले दशगजा बाँधको विरूद्धमा जनसंघर्ष गर्नुपर्छ।’ उनले भारतीय ज्यादतीवीरद्ध नेपालले अन्तर्राष्ट्रिय अदालतमा जाने आँट गर्नुपर्ने पनि जनाए ।
‘भारतको हेपाहा प्रवृत्तिविरुद्ध नेपालले अन्तराष्ट्रिय अदालतमा मुद्दा हाल्नुपर्छ’ । ‘यसका साथै बाढीपीडितका नाममा भारतले गर्ने सबै राहत सहयोग हामीले बहिष्कार गर्नुपर्छ भन्ने मलाई लाग्छ। यस बाढीको प्रमुख कारकतत्व भारत हो, तिनीद्वारा निर्मित दशगजा बाँध हो ।’ उनले भनेका छन् ।
पूर्वसभासद जैसवालले शनिबारको बाढीले गौरका मेनरोडमा ५ फिटभन्दा माथि पानीको सतह पुगेको जनाएका छन्। आफू बसेकै घरमा तीन फिट भन्दा माथि पानी पुगेको उनको भनाइ छ । ‘जिल्ला प्रहरी प्राङ्गणमा झण्डै ५ फिटभन्दा बढी पानीको सतह छ। यतिबेला सबै डुबानमा रहेका कारण अरूको सहयोगको आश गर्नुभन्दा आ आफ्नो ठाउँमा सजग रहनुस्’, उनले सजग गराउँदै भनेका छन्, ‘यस बाढीको पानी निकासलाई अवरोध गरेको दशगजा बाँध भत्काउनेवारे नेपाल सरकारले छिटोभन्दा छिटो कुटनैतिक पहल गरी थप जनधनको क्षति हुनबाट जोगाउन पहल गरोस्।’


















