ट्रम्पको रंगभेदी ट्वीटको सर्वत्र आलोचना

193

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रंगभेदी ट्वीट गरेर निकृष्ट आक्रमण गरेका चार महिला सांसदले आफूहरुमाथि राष्ट्रपतिबाट भएको टिप्पणीलाई बेवास्ता गर्ने जनाएका छन् ।

ट्रम्पले ल्याटिन तथा अफ्रिकन मुलका महिला नेतृलाई लक्षित गरेर रंगभेदी ट्वीट गरेका हुन् । उनले ट्वीटमा लेखेका थिए, ‘मुल रुपमा राज्यसत्ता पूर्ण रुपमा खराब रहेको देशबाट आएकाहरुले सुझाव दिनु पूर्व आफ्नो मुल देश फर्किए हुन्छ ।’ त्यसपछि राष्ट्रपति ट्रम्पले कंग्रेसकी सभामुख न्यान्सी पेलोसीलाई लक्षित गरेर ट्वीट गरेका थिए ।

डेमोक्र्याटिक पार्टीका लेफ्ट–विङ्गमा रहेका चार महिला नेतृको समूह ‘द स्क्वाड’ सँग सभामुख पेलोसीको गएको हप्ता विवाद भएको थियो । त्यसको हप्ता दिनपछि ट्रम्पले उनीहरु विरुद्ध रंगभेदी ट्वीट गरेका हुन् । ट्रम्पले ती नेतृहरु आफ्नो ‘मुल’ देश फर्किने भए यात्राको निशुल्क व्यवस्थापनका लागि सभामुख पेलोसी खुशी हुने ट्वीटमा उल्लेख गरेका थिए ।

अमेरिकामै जन्मी हुर्केका एलेक्सान्ड्रिया ओकासिओ–कोर्तेज, रशिदा तलाइब र एयाना प्रेसली तथा बाल्यकालमा अमेरिका आएकी इहान ओमारले कंग्रेसमा ‘द स्क्वाड’ समूह बनाएका छन् ।

द स्क्वाडमा रहेका उनीहरुले अमेरिकी समय अनुसार सोमबार बेलुका पत्रकार सम्मेलन गरेर राष्ट्रपति ट्रम्पको टिप्पणीप्रति ध्यान नदिने बताएका हुन् । उनीहरुले अमेरिकी नागरिकसँग पनि ट्रम्पको भनाईलाई ध्यान नदिन आग्रह गरेका छन् । ट्रम्पको टिप्पणी विकर्षण र व्याकुलताको पराकाष्ठ रहेको तथा वास्तविक मुद्दाबाट ध्यान भड्काउने ध्याउन्नले आएको उनीहरुले उल्लेख गरेका छन् ।

ट्रम्पको रंगभेदी ट्वीटको सर्वत्र आलोचना भइरहेको छ । उनले भने आफ्नो ट्वीटको बचाउ गर्दै आएका छन् र त्यो रंगभेदी नरहेको दाबी गरिरहेका छन् ।

पत्रकार सम्मेलनमा द स्क्वाडमा रहेका चार महिला सिनेटरले सबैको ध्यान राष्ट्रपतिको भनाई भन्दा पनि नीतिगत व्यवस्था र नीति निर्माणका प्रक्रियामा हुनु पर्ने बताएका छन् । ट्रम्पले आफ्नो प्रशासनको भ्रष्ट संस्कारबाट ध्यान भड्काउनका लागि यस्तो खालको टिप्पणी गरेको कंग्रेसकी सदस्य प्रेसलीले बताएकी छन् ।

यस्तै कंग्रेस सदस्य रशिदा तलाइब र इहान ओमारले राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउनु पर्ने माग गरेका छन् । ट्रम्पले आइतबार शृङ्खलाबद्ध रुपमा ट्वीट गरेर उनीहरुमाथि रंगभेदी ‘अटयक’ गरेपछि तलाइब र ओमारले महाअभियोगको माग गरिरहेका छन् ।

ट्रम्पको ट्वीट रंगभेदी (रेसिस्ट) र जेनोफोविक (भिन्न देश वा भिन्न देशको इतिहास बोकेकाहरुप्रति अपमानजनक र फरक व्यवहार गर्ने प्रवृत्ति) रहेको भन्दै आलोचना भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here