काठमाडौं / कालजयी कविता ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ भिडियो भिडियोमा आएको छ । एक दशकअगाडि संगीतकार अम्बर गुरुङ र गायक फत्तेमान राजभण्डारीले स्वरबद्ध गरी अडियो रेर्कड गरेका थिए, नेपथ्यले यो गीतको भिडियो पनि बनाएको छ।
कवि गोपालप्रसाद रिमालले राणाकाल रचना गरेको यो कवितालाई अम्बर गुरुङले वीररसमा संगीतवद्ध गरेर राष्ट्रिय गीतका रुपमा तयार पारेका थिए। यो गीत रेडियो नेपालमा रेकर्ड भएको थियो।
नेपाली राष्ट्रिय झण्डाको महिमा गाउने गौरवमय इतिहास र वीर गाथा बयान गर्ने यो गीतलाई पछिल्लो समय लोक रक ब्याण्ड ‘नेपथ्यले’ गाउँदै आएको छ। गीत पुरानो भएपनि लोकप्रियता धेरै रहेको छ।
‘पुरानै गीतलाई हाम्रो थप प्रयास स्वरुप नयाँ एरेन्जमेन्टले सजाएपछि श्रोताहरुलाई सुनाउँदै आएका छौं,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ जनाएका छन्, ‘सन् २००२ यता ब्याण्डका हरेकजसो कन्सर्टमा नछुटाइकन यो गीत प्रस्तुत हुने गरेको छ।’
माओओवादी द्वन्द्वको समयमा नेपथ्यले विभिन्न देशमा कन्सर्ट गर्दा आफ्नो कन्सर्टमा ‘गाउँ गाउँबाट उठ’ र ‘रातो र चन्द्रसूर्जे’ गीत थपेको थियो। संगीतकार एवं गायक अम्बर गुरुङबाट यस गीतलाई गाउने आधिकारिक अनुमति ब्याण्डले प्राप्त गरिसकेको नेपथ्यले जनाएको छ, केहि वर्षअघि तयार भएको नेपथ्यको एल्बम ‘मेरो देश’मा यसलाई समेटिएको थियो।
यस गीतलाई नौ वर्ष अगाडि नेपाली सेनाले ‘सैनिकगीत’ बनाउने निर्णय गरेको थियो। भिडियोमा नेपथ्य ब्याण्डकै लाइभ कन्सर्टका दृश्यहरुलाई संयोजन गरिएको छ ।


















