काठमाडौं / १० दिनपछि प्रतिनिधि सभाको बैठक बुधबार सुरु भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बाढी पहिरो र विपदसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो । सो प्रस्तावमाथि राष्ट्रिय जनता पार्टी नेपालले समर्थन गरेको छ ।
प्रतिपक्षले सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने कार्यतालिका देखेपछि संसदले सूचना टाँस गरी १० दिनसम्मको लागि बैठक स्थगित गरेको थियो । गत असार ३० गते १० दिनको लागि संसद अवरोध भएको थियो ।
बुधबार सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएपछि बुधबार बस्ने भनिएको संसद बैठकमा अवरोध नगर्ने सहमती अनुरुप संसद सुरु भएको हो । संसद सुरु भएपछि काँग्रेस सांसद मीनेन्द्र रिजालले सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका छन् । रिजालले प्रस्ताव पेश गर्दै विपदका बेला सरकार जनतातिर फर्किनुपर्ने बताएका छन् । उनले संसदले पनि सरकारलाई जनतातिर फर्काउने काम गर्नुपर्ने बताए । मुलुकमा बाढी र पहिरोको विपत्ति परेका बेला संसदमा रहेका दलहरु एक ठाउँमा उभिनुपर्ने भन्दै सांसद रिजालले त्यसैअनुसार जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको जानकारी दिए ।
सभामुख कृष्णबहादुर महराको पहलमा सिंहदरबारस्थित कार्यकक्षमा भएको छलफलले प्रतिपक्षलाई सार्वजनिक महत्वको प्रस्ताव पेश गर्न दिने र प्रतिपक्षले संसद अवरोध पनि नगर्ने सहमति भएको हो । सहमतिअनुसार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी दल राजपाले बाढी, पहिरो, डुबान लगायतका बारेमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने र सदन सुचारू गर्ने सहमती भएको थियो ।

















