काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ।
दिउँसो एक बजे बोलाइएको सचिवालय बैठकमा स्कुल विभाग सहित टुंगो लाग्न बाँकी अन्य विषयमा छलफल हुने भनिएको थियो।
नेकपामा विभागहरुको नेतृत्व विषयमा नेताहरुबीच सहमति हुन सकिरहेको छैन। विभागहरुको नेतृत्व टुंगो लगाउने विषयमा थप गृहकार्य गर्नुपर्ने भएकाले बैठक स्थगित भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाए । अन्य विभागहरुको विषयमा खासै असमझदारी बाहिर नआए पनि स्कुल विभागको विषयमा भने प्रष्ट दुई धार देखिएका छन्।
पूर्व एमालेका तर्फबाट ईश्वर पोखरेलले यो विभागको नेतृत्वको लागि दाबी गरिरहेका छन्।पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपप्रधान तथा रक्षामन्त्रीसमेत सचिवालय सदस्य ईश्वर पोखरेललाई स्कुल विभागको नेतृत्व दिने अडानमा छन्। तर, माओवादी खेमा त्यो अडानलाई अस्वीकार गर्दै आएको छ। पार्टीका विभिन्न ३२ विभागको भागबन्डा मिालाउन अझैं बाँकी छ।


















