काठमाडौं / नेपाल पोल्ट्री महासंघले नारायणगढमा कुखुराको आहारा परीक्षणका लागि प्रयोगशाला सञ्चालन गर्ने भएको छ। दाना, पानी, भिटामिन लगायतमा रहेको गुणस्तर परीक्षणका लागि प्रयोगशाला सञ्चालन गर्न लागिएको हो। यसका लागि आवश्यक पर्ने उपकरणमध्ये दानामा ढुसीबाट उत्पादन हुने विषादीको अवस्था परीक्षण गर्ने चाम एनलाईजर उपकरण महासंघलाई जर्मनको एक कम्पनीले प्रदान गरेको छ। कार्यक्रममा जर्मनको ईडब्लु न्यूट्रिसनका अन्तर्राष्ट्रिय बजार प्रबन्धक किङ्सुक चक्रवतीले महासंघका अध्यक्ष गुणचन्द्र विष्टलाई उपकरण हस्तान्तरण गरेको छ ।
उक्त उपकरणलाई नेपाली रु १६ लाख पर्ने चक्रवतीले जानकारी दिए। पोल्ट्री व्यवसायी मञ्च रहेको ठाउँमा स्थापना गर्न लागिएको प्रयोगशालामा यो उपकरण रहने विष्टले बताए। आफूले उत्पादन गरेको र खुवाउन ल्याएको दानाको परीक्षण गर्न सकिने विष्टको भनाइ छ। महासंघका उपाध्यक्ष टिकाराम पोखरेलले केही दिनमा कुखुराको आहारामा हुने प्रोटिन र इनर्जी परीक्षण गर्ने अर्को उपकरण पनि ल्याइने जनाए ।
पक्षीसँगै मानव स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव हुने भएकाले खुवाउने दाना, पानी, भिटामिन परीक्षण गरेर मात्र खुवाउन सहयोग पु¥याउने उद्देश्यले प्रयोगशाला स्थापना गर्न लागिएको हो। नेपालमा कुखुराजन्य क्षेत्रमा रु एक खर्बभन्दा बढी लगानी भएको व्यवसायीले बताउँदै आएका छन्। जसमध्ये आधा हिस्सा चितवनमा रहेको पोखरेलले जनाए ।


















