ग्रेस रोड चर्चकी संस्थापक शिन ओक जु लाई ६ वर्ष सजाय

254

एजेन्सी / दक्षिण कोरियाको ग्रेस रोड चर्चकी संस्थापक शिन ओक जु लाई छ वर्षको जेल सजाय हुने भएको छ ।  चर्चकी संस्थापक जु ले सन २०१४ मा करिब चार सय जनालाई प्राकृतिक प्रकोपबाट बच्न सकिने भन्दै फिजीमा बसाइ सर्नका लागि राजी गराएकी थिइन् । फिजी पुर्याइएपछि उनीहरुलाई बन्धक बनाइएको तथा हुलदंगा मच्चाउने काममा लगाएको थियो । बन्धक बनाइएका ४०० मध्ये सबैको पासपोर्ट खोसेर राखिएको थियो भने तीमध्ये केहीले आत्मा भगाउने भन्दै कुटपिट गरिएकोसमेत उजुरी गरेका थिए ।

यसै सम्बन्धमा शिनलाई गएको जुलाई महिनामा पक्राउ गरिएको थियो । ग्रेस रोड चर्चको अमानवीय व्यवहारबाट फुत्किन सफल एक पीडितले आफूले आफ्नो सम्पूर्ण परिवार धार्मिक अन्धविश्वासका कारण गुमाएको गुनासो गरेको बीबीसीले जनाएको छ । सोमबार दक्षिण कोरियाको एउटा अदालतले शिनलाई हिंसा, बाल दुराचार तथा ठगीलगायत विभिन्न आपराधिक मुद्दाहरुमा दोषी ठहर्याएको थियो । ‘पीडितहरुलाई मरणासन्न हुने गरी कुटपिट गरिएको र शारीरिकका साथै मानसिक डर त्रास र यातना दिइएको पाइयो’, दक्षिण कोरियाको सुवन जिल्ला अदालतको उप अदालतले भनेको छ । उप अदालतले अगाडि भनेको छ, ‘धर्मको नाउँमा गरिएको गैरकानुनी कारबाहीबापत कडाभन्दा कडा कारबाही हुनुपर्छ ।’

चर्चकी संस्थापक शिनसँगै चर्चका अन्य पाँचजना अधिकारीहरुलाई पनि सजाय सुनाइएको छ भने यसबारेमा चर्चले कुनै आधिकारिका धारणा वा प्रतिक्रिया सार्वजनिक गरेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here