डा. बाबुराम भट्टराईले देखाए नेपालको वास्तविक आर्थिक दुरावस्था

256

काठमाडौं / पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालको आर्थिक अवस्था डरलाग्दो अवस्थाबाट गुज्रिरहेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ । भट्टराईले देशको वार्षिक बजेट बराबरको व्यापार घाटा देखिनु भनेको चिन्ताजनक अवस्था हो भन्दै अर्थतन्त्र अत्यन्त परनिर्भर रहेको र आर्थिक विकासका निम्ति यो अवस्था चुनौतिपूर्ण रहेको भन्दै उहाँले अर्थतन्त्रका मुख्य क्षेत्र कृषि, उद्योग र सेवा हुन्छन् । तिनको संरचना हेर्ने हो भने अत्यन्त चिन्ताजनक अवस्था देखापर्ने गरेको जनाउनुभएको छ ।

उहाँले भन्नुभएको छ –‘अहिले पनि देशको दुईतिहाइ श्रमशक्ति कृषिमा आश्रित छ । त्यसबाट प्राप्त कुल गार्हस्थ उत्पादन पछिल्लो वर्ष २८.७ प्रतिशत छ । त्यसरी नै उद्योगको क्षेत्रमा कुल जनसंख्याको १२ प्रतिशत लागेको छ र त्यसमा कुल गार्हस्थ उत्पादनको १४.३६ प्रतिशत छ । सेवा क्षेत्रमा १७ प्रतिशत जनसंख्या लागेको छ र त्यसले कुल गार्हस्थ उत्पादनमा ५०.११ प्रतिशत योगदान गरेको छ । यसरी आर्थिक क्षेत्रगत रूपमा श्रमशक्ति र कुल गार्हस्थ उत्पादनमा योगदानको अनुपात हेर्दा अत्यन्त असन्तुलित छ । जसले दिगो विकास दिनै सक्दैन ।’

डा. भट्टराईले अगाडि भन्नुभएको छ – ‘हामीले क्रमशः कृषिमा आश्रित जनसंख्या दुईतिहाइबाट १५/२० प्रतिशतमा झार्न सक्नुपर्छ । उद्योगमा लागेको श्रमशक्ति कमसेकम ३०/३५ प्रतिशतमा पु¥याउन सक्नुपर्छ र, सेवा क्षेत्रमा लागेको जनसंख्यालाई ४५/५० प्रतिशत पु¥याउनुपर्छ । त्यसरी मात्र दिगो प्रकारको आर्थिक विकास र समृद्धि हुन सक्छ । त्यो हामीले कसरी हासिल गर्ने भन्ने गम्भीर प्रश्न छ । हाम्रो अर्थतन्त्र अत्यन्त परनिर्भर छ । व्यापारघाटा प्रत्येक वर्ष बढ्दै गएर अहिले कुल वार्षिक बजेटको झन्डै बराबर हुन पुगेको छ । भनिन्छ, हामीले सुगौली सन्धिताका आयातभन्दा निर्यात पाँच गुणा बढी गथ्र्यौं । पञ्चायती व्यवस्थाको अन्त्य हुने वेला अर्थात् ९० को दशकसम्म आइपुग्दा त्यो अनुपात उल्टिएर निर्यातभन्दा आयात पाँच गुणा बढी भयो । अहिले त्यो प्रत्येक वर्ष बढ्दै गएर निर्यातभन्दा आयात १५ गुणाभन्दा बढी हुन पुगेको छ । जुन धान्नै नसकिने अवस्था हो । त्यसरी नै हाम्रो परम्परागत कृषिमा अल्झेको श्रमशक्ति देशभित्र रोजगारी प्राप्त गर्न नसकेर भारत र अन्य देशमा औपचारिक र अनौपचारिक ढंगले गएका छन् । यसरी जाने श्रमशक्ति ८० लाखभन्दा बढी भएको अनुमान गरिन्छ । यसरी श्रम निर्यात र वस्तु आयात गर्ने अर्थतन्त्र कति दिगो हुन सक्छ स्वतः बुझ्न सकिने कुरा हो । त्यसरी नै पुँजीबजार र लगानीको वातावरण हेर्ने हो भने अहिले पनि औद्योगिक र मुख्य उत्पादन क्षेत्रको पुँजीबजारमा खासै हिस्सा देखापर्दैन । ८० प्रतिशत हिस्सा वित्तीय क्षेत्रको छ । पुँजी लगानी कुल गार्हस्थ उत्पादनको ३५–४० प्रतिशत हुनुपर्नेमा गत वर्षभन्दा विदेशी लगानी घटेको आँकडा आइरहेछ । यस हिसाबले पुँजी निर्माण र लगानीको स्थिति पनि सन्तोषजनक देखापर्दैन । राजस्वको प्रवृत्ति हेर्ने हो भने पञ्चायतकालमा जसरी त्यो भन्सारमुखी थियो अहिले पनि भन्सार र भ्याटमुखी नै छ । क्षेत्रीय असन्तुलन काठमाडौं उपत्यका र आसपास नै देशको झन्डै आधा जिडिपी केन्द्रित छ र कर्णाली प्रदेशको जिडिपीको हिस्सा जम्मा तीन प्रतिशत छ । यसरी क्षेत्रीय असन्तुलन गम्भीर छ । यो सबै हिसाबले हेर्दा हामीले गुणात्मक रूपले तीव्र र दिगो आर्थिक विकासका निम्ति केही महत्वपूर्ण संरचनात्मक परिवर्तन गर्नैपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here