पार्टी एकता नभएसम्म अरु पार्टीसँग सहकार्य गर्न राजपा स्वतन्त्र छ : सहअध्यक्ष श्रेष्ठ

220

काठमाडौं / समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा नेकपा र राजपाबिच भएको सहमतीले समाजवादी पार्टी र राजपाबिचको एकता प्रकृयामा असर नपर्ने दावी गरेको छ । उनले भने, ‘पार्टी एकता नभएसम्म अरु पार्टीसँग सहकार्य गर्न राजपा स्वतन्त्र छ ।’ उनले उक्त कुरा शनिवार काठमाडौंको डल्लुमा भएको एक कार्यक्रममा  जनाएकाे  हो ।

सहअध्यक्ष श्रेष्ठले दुई नम्बर प्रदेशको समाजवादी-राजपा गठबन्धन सरकार सङ्घीयता कार्यान्वयनको सन्दर्भमा उदाहरणीय भएको जनाउँदै प्रदेश सरकारले शत प्रतिशत समानुपातिक समावेशी हुने गरी विधेयक पारित गर्नु केन्द्र र अरु प्रदेशको सरकारलाई चुनौति भएको  जनाए । उनले दुई नम्बर प्रदेशले नयाँ स्थापित हुने उद्योगहरूलाई २० वर्षसम्म कर छुट, सीमान्तकृत शिल्पी, मुस्लीम र विपन्न परिवारलाई प्रोत्साहन स्वरूप छात्रवृत्ति, ‘बेटी पढाउ बेटी बचाउ अभियान’ अन्तर्गत दश हजार छोरीहरूका लागि शिक्षा वीमा जस्तो कार्यक्रम लोकप्रीय बनेको बताए ।

पार्टी एकता प्रकृयाबाट पछि हटे राष्ट्रिय राजनीतिमा राजपाको औचित्यता सकिन्छ ।

नेता श्रेष्ठले आफ्नो पार्टी र राजपाबिच लामो समयदेखि एकता वार्ता भइरहेको र वार्ता निष्कर्षमा पुग्न लागेको कुराले नेकपा लगायत देशका पुराना शक्तिहरू आत्तिएको जनाउँदै  त्यसलाई भाँड्न दूतका रूपमा सिखण्डीहरूको प्रयोग गर्न थालेको जनाए  । उनले नेकपाको चक्रब्युहमा राजपा नफस्ने विश्वास व्यक्त गर्दैै भने, ‘पार्टी एकता प्रकृयाबाट राजपा पछि हटे राष्ट्रिय राजनीतिमा उस्को औचित्यता सकिन्छ । उत्पीडित समुदायले त्यसको हिसाव किताव राख्ने छ ।’

प्रतिनिधिसभा सदस्य समेत रहेका सांसद श्रेष्ठले सङ्घीय समाजवादी फोरम सरकारमा सामेल हुँदाको बखत संविधान संशोधनको सम्बन्धमा भएको दुईबुँदे सम्झौता कार्यान्वयनमा नेकपा र यस्को नेतृत्व उदासीन रहे पनि त्यसको कार्यान्वयनका लागि पहल लिनु आफ्नो पार्टीको दायित्व भएको जनाए ।  उनले सम्झौता कार्यान्वयन नगरी धोका दिए कम्युनिष्ट पार्टीको निधारमा सदाका लागि विश्वासघातको दाग लाग्ने जनाए ।

सांसद श्रेष्ठले आफनो पाटी अध्यक्ष तथा नेपाल सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादव कानुन मन्त्री समेत भएकाले अब छिट्टै संविधान सशोधनको प्रकृया थालनी हुने भन्दै राजपाले यसमा असर पर्ने गरी कुनै काम नगर्ने विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here