भ्यागुतालाई क्वाती खुवाउँदै पूजा

526

काठमाडौं / उपत्यकाका नेवार समुदायले श्रावण शुक्ल पूर्णिमाको अवसरमा क्वाती पुन्ही (गुंपुन्ही) मनाइन्छ ।

टुसा पलाएका चना, मटर, मस्याङ, मुगी, बोडी, मास, भटमास, केराउ, सिमी लागायतका गेडागुडी भिजाएर त्यसलाई पकाएर क्वाती बनाउने गरिन्छ। यस्ता गेडागुडीको मिश्रण तयार गर्नुअघि टुसा उम्रिने गरी भिजाउने गरिन्छ। निश्चित समय भिजाएर तयार गरिने तातो झोल युक्त क्वाती सन्तुलित मात्रामा खाए शरीरमा स्फूर्ती बढ्ने धारणा रहेको छ ।  आजको दिन नेवार समुदायमा भ्यागुतालाई क्वाती खुवाउँदै ‘ब्यांजा नकेगु पुन्ही’ मनाउँदैछन्। नेपाल भाषामा ‘ब्यांजा’ भनेको भ्यागुता हो।

पर्यावरणप्रति संवेदनशील यो समुदायले पानी पार्न भ्यागुताको महत्वपूर्ण भूमिका हुने हुँदा त्यसको पूजा गर्ने गर्छन्। भ्यागुता कराएको सुनेपछि स्वर्गका राजा इन्द्रले सुन्ने र त्यसपछि वर्षा हुने जनविश्वास रहेको छ। धानलगायत तरकारीहरु रोपेको समयमा खेतमा पानीको अभाव नहोस भन्ने हेतुले पानी पार्न भ्यागुतालाई क्वाती खुवाउँदै पूजा गर्ने प्रचलन बसेको हो। किसानहरुले खेतमै गएर क्वातीका साथै भ्यागुतालाई रोटी, चामल आदी खुवाउने चलन रहेको छ।

विशेषगरी कृषिप्रधान जातिमा प्रचलित यो परम्परा भने विस्तारै लोप हुने अवस्थामा छ। तैपनि, मानिसहरुले घरमै भएपनि भ्यागुतालाई क्वाती खुवाएर परम्परा जोगाउने प्रयास गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here