कार्यालयमा उडेर पुग्ने कर्मचारी

76

एजेन्सी / कहिलेकाहीँ ट्राफिक जाममा फसेर समयमा कार्यालय पुग्न नपाएको बेला उडेर अफिस जान पाएपनि हुन्थ्यो भन्ने कल्पना मनमा आउँछ । यहीँ कल्पनालाई बेलायतका एकजना व्यक्तिले चाहिँ यथार्थमा बदलिदिएका छन् । इंगल्याण्डका प्यारामोटर ग्लाइडर टम प्राइडो ब्रुन हरेक दिन उडेरै घर-अफिस आउजाउ गर्दछन् ।

टमले आफ्नो पिठ्यूँमा एउटा ठूलो जालिदार घेरा तथा प्यारामोटर ग्लाइडरको पेटी बाँधेका हुन्छन् । काँधको माथिबाट डोरी खिचेर पछाडि बाँधिएको मोटर चलाउँदछन् । मोटर चलेसँगै पिठ्यूँमा बाँधिएको ठूलो पंखा घुम्न थाल्दछ । त्यसपछि उनी मैदानमा दौडन्छन् । १०१२ पाइला दौडिसकेपछि उनले दुवै खुट्टा हावामा उठाउँदछन् । त्यसपछि उनको प्यारामोटर ग्लाइडरले काम गर्न सुरु गर्दछ र उनको शरीर हावामा उड्दछ । अनि उनी उडेरै अफिससम्म पुग्दछन् । कार्यालयबाट फर्किने बेलामा पनि उनले त्यसै गर्दछन् र उडेर घर फर्किन्छन् । उनको कार्यालय दक्षिण पश्चिमी इंगल्याण्डको विल्टशायरमा छ । मौसम सफा भएको दिन उनी सधैं उडेरै कार्यालयमा पुग्दछन् । त्यसैले हरेक दिन बिहानको आफ्नो पहिलो काम भनेकै झ्याल खोलेर मौसम सफा छ कि छैन भनेर हेर्नु रहेको उनले जनाए ।

यद्यपि उनी सहरमा बाइक वा पैदलै यात्रा गर्न रुचाउँछन् । तर उड्नु उनका लागि धेरै रोमाञ्चकारी तथा प्रेरणादायी लाग्दछ । घरबाट अफिस पुग्नका लागि शेरबोर्नदेखि डोर्सेटसम्म आकाशमा ३० किलोमिटर दूरी पार गर्नु पर्दछ । चार पाँच लिटर जति इन्धन खपत गर्ने इन्जिनबाट पंखा चल्छ । जसबाट उनी प्रतिघण्टा झण्डै ५० किलोमिटरको गतिमा उड्दछन् । ग्रामीण इलाका तथा खेतहरुको माथि आकाशमा उडिरहँदा निकै आनन्द महसुस हुने उनको धारणा रहेको छ । उडान भर्नु भनेको विल्कुल फरक दृष्टिकोणबाट संसारलाई हेर्नु रहेको भन्दै उनले माथिबाट तल जमिनमा स्कूल तथा खेतहरु हेर्दै दिनको सुरुवात गर्नु सानदार तरिका रहेको जानकारी दिए ।

प्याराजेट इन्टरनेसनल कम्पनीमा सेल्स एण्ड मार्केटिङ डाइरेक्टरको काम गर्दछन् उनी । उनको कम्पनीले उनी उड्ने जस्तै उपकरणहरु बनाएर बेच्ने गर्दछ । घर र कार्यालय आवतजावत उडेरै गर्ने उनीमात्र एक्लो व्यक्ति होइनन् । उक्त कर्मचारीका एक दर्जनभन्दा धेरै कर्मचारीहरु प्यारामोटर प्रयोग गरी उडेर अफिस-घर आउजाउ गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here