काठमाडौं / अर्थमन्त्री डा.युवराज खतिवडाले मन्त्री र उच्चपदस्थ कर्मचारीलाई उपलब्ध गराएको सवारी साधनको खर्च धेरै रहेको जनाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसद दिव्यमणि राजभण्डारी र पुष्पा भुसालले पुराना सवारी मन्त्रालय, विभाग एवं विदेशस्थित दूतावासअघि लाम देखिने गरेका सम्बन्धमा प्रश्न गरेकोप्रति जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सवारी खरीदका सम्बन्धमा मन्त्रालय मितव्ययी भएको जनाउँदै कूटनीतिक नियोगमा भने मर्यादा अनुसारका सवारी, श्रम गर्न धेरै नेपाली गएका मध्यपूर्वका देशमा उद्धारका लागि पनि त्यसै अनुसारका सवारी खरीद गरिएको जानकारी दिए ।
अर्थमन्त्री खतिवडाले विदेशमा लगानी गर्नु छ भने सरकारसँग स्वीकृति लिएर लगानी गर्न सकिने जनाएका छन् । सांसद दिलेन्द्रप्रसाद बडूका तर्फबाट सांसद अतहर कमाल मुसलमानले नेपाली नागरिकबाट गैरकानूनी रुपमा स्विस बैंकमा जम्मा भएको देखिएको रु ५३ अर्बबारे के कारवाही हुँदैछ, कहिलेसम्म कारवाही पूरा हुन्छ भनी राखिएको प्रश्नको जवाफ दिदै उनले कसैको नाम मिलेकै आधारमा विदेशमा पैसा छ भन्न नसकिने जनाए ।
विदेशी बैंकमा रहेका खाताको खोजी भइरहेको जनाउँदै मन्त्री खतिवडाले राजश्व सचिवको संयोजकत्वमा समिति गठन गरी प्रहरी पनि परिचालन गरिएको जानकारी दिए । अन्तर्राष्ट्रिय सूचना प्रणालीबाट त्यसरी पैसा राख्नेको सूची खोजी भइरहेकाले कानून कार्यान्वयन गराउने मन्त्री खतिवडाको प्रतिबद्धता थियो ।

















