नेपाल वायुसेवा निगमको जहाज जापानमा नियमित उडान पुनः प्रारम्भ 

146

 काठमाडौं / नेपाल वायुसेवा निगमले भदौ १२ गतेदेखि जापानको ओसाका सम्मको नियमित उडान पुनः प्रारम्भ  गरेको छ । उडानको सन्दर्भमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उद्घाटन कार्यक्रम गरिएको थियो ।

उक्त अवसरमा संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराई, राज्य मन्त्री धनबहादुर बुढा र मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले यात्रुहरुलाई बोडिङ्ग पास दिई विदाई गर्नु भएको थियो । मन्त्रीले पूर्वको उडानको शुभ संकेत हो र भविष्यमा थप गन्तव्य विस्तार गर्न सफलता प्राप्त होस् भन्नुभयो ।

कार्यक्रममा निगमको कार्यकारी अध्यक्ष मदन खरेलले शुभकामना मन्तव्यको क्रममा नेपाल जापानको उडान अनेकौं बाधाहरुको बावजुद सम्वन्धी सबै सरोकारवालाहरुको सकारात्मक सहयोगले सफलता प्राप्त गरेको धारणा राख्नुभयो र उहाँले यसै गरी सकारात्मक सुझाव र सहयोगले गर्दा निगम अन्य नयाँ गन्तव्य विस्तार तर्फ अग्रसर हुने उत्साह प्राप्त गरेको मन्तव्य राख्दै सेवा सहित नाफाको अपेक्षा निगमको रहेको र नाफा क्रमिक विकासको परिणाम हुन्छ, जापान उडानको वार्षिक ४३००० सिट क्षमता रहेकोमा वार्षिक ३५००० यात्रुवहन गर्ने लक्ष्य लिएको धारणा राख्नुभयो । यो तत्काल प्राप्त नहुने तर निरन्तरताले सुनिश्चितता प्रदान गर्ने भनी पहिलो उडानमा संलग्न सबैलाई शुभकामना दिनुभयो ।

निगमले हप्ताको तिन दिन बिहीबार, शनिवार र मंगलबार ओसाकाको नियमित उडान गर्नेछ । हाललाई निगमले प्रवद्र्र्धनात्मक भाडादर दुईतर्फी ७२ हजार ८ सय र एकतर्फी ३७ हजार निर्धारण गरेको छ । काठमाडौंबाट बिहान २ः३० बजे उडेको विमान ६ घण्टा पछि स्थानीय समय अनुसार ११ः५५ बजे पुगेको थियो । उक्त विमान अपरान्ह ओसाकाबाट उडान गरी बिहीबार अपरान्ह ६ बजे काठमाडौं आइपुग्ने छ । पहिलो उडानमा काठमाडौं – ओसाका बीच १४६ जना यात्रुले यात्रा गरेका थिए ।

नेपाल जापानको सिधा उडानलाई थप व्यावसायिक प्रवद्र्धन गर्न सेप्टेम्बर महिना भर प्रत्येक उडानमा यात्रुहरु बीच गोलाप्रथा गराइनेछ र एक जनालाई उपहार स्वरुप एक निःशुल्क नेपाल जापान उडानको टिकट प्रदान गरिनेछ ।

निगमले आगामी पौषदेखि जापानको अर्को गन्तव्य टोकियोको नारिता विमानस्थलमा पनि उडान गर्नेछ । पहिलो उडानमा सिमित यात्रु संख्याको आधारमा भविष्यमा यात्रुहरु निरन्तर बढ्दैजाने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here