काठमाडौं / नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक योहान कालिनले नियमित कप्तान विराज महर्जन टोलीबाट बाहिर राख्दै कतार विश्वकप २०२२ को दोस्रो चरणको छनोटका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ ।
नेपालले विश्वकप छनोटको सुरुवाती दुई खेलका लागि राष्ट्रिय टोलीको घोषणा गर्दा नियमित कप्तान विराजले टालीमा स्थानमा बनाउन नसकेका हुन् । विराजले पछिल्लो तीन वर्ष नेपाली टोलीको कप्तानी गरेका थिए । नेपालबाट सर्वाधिक क्याप जित्ने विराज बंगबन्धु गोल्डकप तथा यू–२३ टिमले १२औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक जित्दा टोलीको कप्तानी गरेका थिए । प्रशिक्षक कालिनले विराज पूर्णरुपमा फिट नरहेको भन्दै मलेसियन सुपर लिग च्याम्पियन जोहार दारुल ताजिम एफसीसँगको खेलमा पनि टोलीमा समावेश गरेका थिएन । नेपाले दारुलसँग १–० ले पराजित भएको थियो ।
दारुलविरुद्धको मैत्रीपूर्ण खेलमा टोलीमा समावेश नगरिएका गोलरक्षक किरण चेम्जोङ र अट्याकिङ मिडफिल्डर रोहित चन्द टोलीमा समेटिएका छन् । किरण बुधबार तथा रोहित बिहीबार स्वदेश फर्किएका छन् । दारुलविरुद्धको टोलीमा रहेका एलन न्यौपाने र विमल रानाले अन्तिम २३ मा स्थान बनाउन सकेनन् । स्वीडिस योहान कालिनले मलेसियन क्लबसँगको मैत्रीपूर्ण खेलका लागि ३१ जनाबाट २३ सदस्यीय टोलीको घोषणा गरेको थियो । जसमा विराजसँगै सुवास गुरुङ, विमल पाण्डेय र त्रिदेव गुरुङले टोलीमा स्थान बनाउन सकेनन् ।
विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले १९ भदौंमा कुवेतसँग खेल्दैछ । त्यसपछि २४ भदौमा चाइनिज ताइपेइसँग खेल्ने तालिका छ ।
नेपाली टोलीमा किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल, रोहित चन्द, सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई, विमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ रहेका छन् ।


















