सवारी चार्जिङ गरेको मूल्य विद्युत् महसुलको आधारमा निर्धारण गर्ने सुझाव

108

काठमाडौं / उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनद्वारा गत फागुन १३ गते विद्युतीय चार्जिङ स्टेसन स्थापनाका लागि आवश्यक अध्ययन गर्न गठित  सरकारी समितिले सवारी चार्जिङ गरेको मूल्य विद्युत् महसुलको आधारमा तोक्ने गरी सिफारिस गरेको छ ।

समितिले विद्युत् महसुलको आधारमा मूल्य निर्धारण गर्ने सुझाव सिफारिस गरेको हो । बुधवार मन्त्री पुनलाई हस्तान्तरण गरिएको प्रतिवेदनमा विद्युतीय सवारीसाधन चार्जिङका लागि बनाइने चार्जिङ स्टेसनको गुणस्तर र मापदण्ड पनि प्राधिकरणले निर्धारण गर्नुपर्ने उल्लेख गरिएको छ । निर्धारित मापदण्ड अनुसार नै चार्जिङ स्टेसन स्थापना गर्नुपर्ने समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मन्त्रालयका सहसचिव प्रविणराज अर्यालको संयोजकत्वमा गठित समितिले चार्जिङ शुल्क विद्युत् महसुलसहित १५ देखि २० प्रतिशत सेवा शुल्क लिन सिफारिस गरेको हो । विद्युतीय सवारीसाधन चार्जिङ गर्दा विद्युत् प्राधिकरणलाई बुझाउनुपर्ने विद्युत् महसुलमा १५ देखि २० प्रतिशत सेवा शुल्क लिने गरी चार्जिङ शुल्क तोक्न समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदन अनुसार चार्जिङ सेवा उपलब्ध गराउने संगठन वा व्यक्तिले चार्जिङ स्टेसनको किसिम अनुसार शुल्क लिनुपर्ने छ । जसअनुसार ‘एसी स्लो चार्जिङ’बाट चार्ज गर्दा प्राधिकरणलाई तिर्नुपर्ने महसुल र थप १५ प्रतिशत रकम सेवा शुल्क लिने गरी शुल्क निर्धारण गर्न समितिले सिफारिस गरेको छ ।

‘एसी तथा डिसी हाइ स्पीड चार्जिङ’ गरेबापत विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने महसुल र थप २० प्रतिशत सेवा शुल्क लिने गरी मापदण्ड तोक्न सिफारिस गरिएको छ । प्रतिवेदनले सिफारिस गरेको आधारमा ‘सवारीसाधन चार्जिङ कार्यविधि’ बनाएर चार्जिङ शुल्क लगायतका मापदण्ड नेपाल विद्युत् प्राधिकरणले तोक्ने छ ।

प्रतिवेदन अनुसार चार्जिङ स्टेसनको अनुमगन तथा नियमन विद्युत् प्राधिकरणबाट गरिने छ । चार्जिङ स्टेसन निर्माणका लागि जग्गा, बाटो लगायतका आवश्यक सबै पूर्वाधारको व्यवस्था चार्जिङ स्टेसन सञ्चालक आफैंले गर्नुपर्ने छ ।

अध्ययनका लागि बनेको अर्याल संयोकत्वको समितिमा मन्त्रालयकै सहसचिव तोयनाथ अधिकारी, मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर राजु महर्जन, विद्युत् विकास विभागका उपमहानिर्देशक सन्दीपकुमार देव र नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपाने सदस्य थिए ।

सुन्दर यातायातको चार्जिङ स्टेसन उद्घाटन हुँदै

सुन्दर यातायात प्रालिले चाबहिलको भत्केपुलमा निर्माण गरेको चार्जिङ स्टेसन मंगलवार उद्घाटन गरिने भएको छ ।  निर्माण गरेको विद्युतीय चार्जिङ स्टेसन उद्घाटनका लागि उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयका अधिकारीलाई पत्राचार गरिएको छ ।

सुन्दर यातायात प्रालिले विद्युतीय सवारी आयात गरिरहेको र केही दिनभित्रै विद्युतीय सवारी सार्वजनिक यातायातको रुपमा सञ्चालन गर्ने अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।

हाल काठमाडौं उपत्यकामा राष्ट्रिय योजना आयोग, नेपाल विद्युत् प्राधिकरण, मन्त्री हेडक्वार्टरसहित विभिन्न ठाउँमा विद्युतीय सवारी चार्जिङ पोइन्ट रहेका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव अर्यालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here