काठमाडौं । चावहिलबाट बौद्ध हुँदै जाने मूल एवं भित्री सडकको दूरवस्थाका कारण पर्यटकमार्फत नकारात्मक सन्देश जाने डरले स्थानीयवासी चिन्तित बनेका छन् । भिजिट नेपाल २०२० सुरु हुन ४ महिना बाँकी रहँदा यहाँको सडक अहिलेसम्म पनि स्तर उन्नती हुन नसके पछि उनीहरुमा चिन्ता बढ्न थालेको हो । टुसाल चोकबाट हायात होटलको पूर्वी पर्खाल हुँदै भित्री मार्गबाट बौद्ध स्तूप निस्कने सडकसमेत निकै जीर्ण छ ।
सडकको बीचमा खाल्डाखुल्डीले पानी जम्दा सवारी र पैदल यात्रासमेत दुःखदायी हुने गरेको छ । हायात होटल अघिको भित्रि सडकमा पसल सञ्चालन गर्ने व्यपारीहरु पानी परेका समयमा महाङ्कालदेखिको बाढी यही बाटोबाट टुसाल चोकमा आउने गरेको बताउँछन् ।
यसका कारण सडक जीर्ण बन्दा दायाँबायाँ बस्न नसकिने गरेको उनीहरुको गुनासो छ । घाम लागेका बेला धूलो र पानी परेका समयमा हिलोले पसलमै बस्दा पनि सटर बन्द गर्नुपर्ने स्थानीयवासीको गुनासो उत्तिकै मात्रामा छ ।


















