जनता आवास (बारा र पर्सा) पुनर्निर्माण कार्यक्रम समापन, घरहरुको प्रमाण पत्र हस्तान्तरण

290

 काठमाडौं / नेपाली सेनाले बारा र पर्सामा आएको हावाहुरीबाट विस्थापित भएकाहरुका लागि निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ ।

कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल सरकारका मन्त्रीहरु, प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मीराज पाण्डे तथा विभिन्‍न सरकारी निकायका उच्चपदस्थ व्यक्तित्वहरुको उपस्थितिमा प्रदेश नं.२ का माननीय मुख्यमन्त्री लालबाबु राउतबाट सम्बन्धित महानगरपालिका, उप-महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरुलाई निर्माण भएका घरहरुको प्रमाण पत्र हस्तान्तरण गर्नु भएको छ ।

हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले नेपाली सेनाले आफ्नो गौरवपूर्ण परम्पराको निरन्तरतालाई कायम राख्दै तोकिएको जिम्मेवारी समयमा नै सम्पन्‍न गरेकोमा  प्रधानमन्त्रीबाट प्रशंसा एवं धन्यवाद व्यक्त गर्नु भएको सन्देश सुनाउनु भएको थियो ।

उहाँले नेपाली सेना र विशेष गरि जनता आवास पुननिर्माणमा खट्टिनु भएका सबैलाई प्रशंसनिय ढंगले महत्वपूर्ण काम सम्पन्‍न गरेकोमा विशेष धन्यवाद दिनु भएको थियो ।

समारोहमा उहाँले सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने बाहिनी/गणहरु तथा आपूर्तिकर्ताहरुलाई प्रशंसा पत्र समेत प्रदान गर्नु भएको थियो । सम्वोधनकै क्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विपद् प्रभावितहरुको पुर्नस्थापना र घर पुननिर्माण कार्यको लागि नेपाल सरकार र प्रधानमन्त्रीलाई विशेष धन्यवाद दिनु हुँदै नेपाली सेनाले मितव्ययीतालाई ध्यानमा राखी समयमा कार्य कुशलताका साथ निर्माण कार्य सम्पन्‍न गरेकोमा प्रधानसेनापति लगायत सो कार्यमा खट्टिएका सकलदर्जाको सराहना गर्नु हुँदै धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

उक्त कार्यक्रमको अवसरमा प्रधानसेनापति महारथी थापाले ‘राष्ट्र सबैभन्दा पहिला’ तथा ‘कर्तव्य सधै पहिला’ भन्‍ने संस्थागत मान्यतालाई आत्मसात गर्दै निर्दिष्ट जिम्मेवारीलाई सम्पन्‍न गर्न नेपाली सेना सदैव प्रतिवद्व रहेको र यस किसिमका विपत्तीहरुमा नेपाली सेनाले भविष्यमा समेत आफ्नो जिम्मेवारीलाई उत्कृष्ट ढंगबाट सम्पन्‍न गर्ने प्रतिवद्वता व्यक्त गर्नु भएको थियो । सोही क्रममा उहाँले विशेष कार्यलाई सफल बनाउन निरन्तर मार्ग निर्देशन प्रदान गर्नुहुने कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री,  प्रदेश प्रमुखलगायत सम्बद्व निकायका विरिष्ठ पदाधिकारीहरु र नेपाली सेनाबाट खट्टिएका सम्पूर्ण सकलदर्जा प्रति आभार एवं कृतज्ञता समेत व्यक्त गर्नु भएको थियो । सोही अवसरमा उहाँले उत्कृष्ट कार्य गर्ने सैनिक व्यक्तिहरुलाई COAS Commendation Badge  समेत प्रदान गर्नु भएको थियो ।

    नेपाली सेनाले ‘जनता आवास’ कार्यक्रम अन्तरगत बारा जिल्लाको विभिन्‍न ५ स्थानमा ३०४ र पर्सामा जिल्लाको विभिन्‍न ७ स्थानमा ५६५ गरी जम्मा 8६९ घरहरुको निर्माण कार्य सम्पन्‍न गरेको छ । पुनर्निर्माण गर्नुपर्ने घरहरुको संख्या ८८१ कायम गरेको जसमध्ये १२ वटा घरहरु विवादित रहेकोले सो विवादित संख्या कटाई ८६९ वटा घरहरुको निर्माण कार्य समापन गरि नेपाली सेनाले हस्तान्तरण गरेको हो। नेपाली सेनाले पुननिर्माण कार्य मिति २०७६ श्रावण २६ गते सम्पन्‍न गर्ने लक्ष्य लिएकोमा असारको अन्तिम साता आएको भारी वर्षाको कारण पुननिर्माण कार्य भईरहेका विभिन्‍न स्थानहरु (Cluster) डुवानमा परी निर्माण कार्य प्रभावित हुन गई लक्षित मिति भन्दा हस्तान्तरण कार्य दुई साता पछि सरेको  नेपाली सेनाले जनाएको छ ।

 उक्त जनता आवास कार्यक्रम अन्तरगत प्रति घर रु. ५ लाख ४५ हजार ९ सय ८५ रुपैंया ८८ पैसा निकासा भएकोमा नेपाली सेनाले मितव्ययीतालाई प्राथमिकता दिई प्रति घर रु.४ लाख ८४ हजार ८ सय ८ रुपैया ६० पैसामा निर्माण सम्पन्‍न गर्न सफल भई प्रति घर ११.१९ प्रतिशत रकम बचत गरि सो रकम नेपाल सरकारलाई फिर्ता गरेको छ ।

 नेपाल सरकारबाट प्राप्त भएका सबै किसिमका जिम्मेवारीहरु पूरा गर्न नेपाली सेना सदैव आफ्नो पेशागत क्षमता र दक्षताको पूर्ण रुपमा सदुपयोग गर्दै सुम्पिएका कार्यहरु स्तरयुक्त एवं विश्‍वसनीय ढंगबाट समयमा नै मितव्ययीताका साथ सम्पन्‍न गर्न सदैव तत्पर रहेको जनाएको छ ।

 नेपाली सेनाले त्यस्ता कार्यहरुबाट नागरिक-सैनिक सम्बन्ध थप सुदृढ हुने विश्‍वास लिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here