दोलखा– गएराति दोलखाको कालिञ्चोक गाउँपालिका–९ स्थित सुन्द्रावती खोलाले कार बगाउँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
सिंगटीबाट चरिकोटतर्फ आउँदै गरेको बा १९ च ४३९० नम्बरको कार गएराति ११ः३० बजे खोलाले बगाउँदा तामाकोशी गाउँपालिका–३, जफेका २४ वर्षीय अनिश पोखरेलको मृत्यु भएको हो ।
सोही कारमा सवार तामाकोशी गाउँपालिका–३ का ३१ वर्षीय विकज पोखरेल र लिखु तामाकोशी गाउँपालिका–२, रामेछापका कार चालक पवन पौडेल पनि कारसँगै बगेका थिए । उनीहरूलाई भने राति नै प्रहरीले उद्धार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, दोलखाका अनुसार सामान्य घाइते उनीहरूलाई अहिले थप उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।
अविरल वर्षासँगै एक्कासि बढेको खोलाले कार बगाएको प्रत्यक्षदर्शीहरूले जनाएका छन् ।

















