अभिव्यक्ति स्वतन्त्रता कमजोर बन्दै गएकोमा अधिकारकर्मीको चिन्ता

199

काठमाडौं । पछिल्लो समय मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर हुँदै गएकोमा अधिकारकमीहरुले चिन्ता व्यक्त गरेका छन् । जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिद्वारा शनिबार बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले मानवअधिकार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्ने बक्ताले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)माथि सरकारले लगाएको प्रतिबन्धले देश गम्भीर खतरामा फस्ने भन्दै जिम्मेवार बन्न सरकारलाई सुझावसमेत दिएका छन् । कार्यक्रममा सहभागी वक्ताहरूले राजनीति विचारसँग असहमति राख्दैमा कुनै शक्तिलाई प्रतिबन्ध लगाउन नहुने समेत जनाए । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता एव पूर्वमन्त्री अमर पुनले पछिल्लो समय नेपालमा मानवअधिकार र प्रेस स्वतन्त्रताको अवस्था कमजोर बन्दै गएको टिप्पणी गरे । एउटा कम्युनिस्ट पार्टीको सरकार भएको अवस्थामा अर्को कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाईएकोमा उनले चिन्ता व्यक्त गरे । ‘यो कस्तो कम्युनिस्ट शासन हो ?’ उनले प्रश्न गरे । युद्धकालमा सरकार र तत्कालीन विद्रोही विच भिडन्त,हत्या बम विस्पोटका समाचारहरु दिनहुँ सुनिएको स्मरण गर्दै अहिले पनि हत्या हिंसा सरकारले चलाउने गरेको ठोकुवा गरे । उनले भने–‘एकातिर सविधान दिवसको दिपावली छ अर्को तिर संविधान जलाएको देखिन्छ, कतै हर्ष उल्लास छ भने कतै आक्रोस छ यो कस्तो अवस्था हो ?’ विकास र समृद्धिको बहस चलाउने सरकार भष्ट्रचार र अनियमितता बारे मौन रहेको उनको धारणा छ ।

सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश ५ का सांसद भोजप्रसाद श्रेष्ठले मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको बिषयमा सरकार गम्भीर बन्नुपर्ने बताए । उनले एकअर्को प्रशंङ्गमा बोल्दै विप्लव नेकपा माथि सरकारले राजनीतिक व्यवहार गर्न सरकारलाई अनुरोध समेत गरेका छन् । नेकपा क्रान्तिकारी माओबादीका विपिएम एवम् प्रदेश ५ का ईन्चार्ज प्रेम सुवेदीले सरकारले न्युनतम कम्युनिस्ट आचारण भुलेको भन्दै सरकारको रबैयाले पञ्चायतकालको झल्को दिएको टिप्पणी गरे । शिक्षा, स्वास्थ्य र जनताका जनजिवीका जस्ताको तेस्तै भएको र राष्ट्रिय स्वाधीनता गम्भीर संकटमा भएको भन्दै गणतन्त्रमाथि नै उनले प्रश्न उठाएका छन् । जनअधिकार अभियान नेपालका अध्यक्ष एवम् बरिस्ठ अधिवक्ता एकराज भण्डारीले मानवअधिकार विधेयकले सरकारले निरङकुसताको अभ्यास गरेको भन्दै यसको बिषयमा सचेत रहन आग्रह गरे ।

पछिल्लो समय मानवअधिकार र प्रेस स्वतन्त्रता कमजोर बन्दै गएको निष्कर्ष सहित संगठनले देशभर अभियान चलाएको थियो । पछिल्लो समय राजनीतिक विचार र आस्थाका कारण नागरिक एवम् पत्रकारहरु धरपकड र गिरफ्तार बढ्दै गईरहेको बेला पत्रकार संगठनले सरोकारवाला विच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । संगठनले यस अगि मेची देखि महाकाली सम्म ३८ जिल्लामा उक्त कार्यक्रम सञ्चालन गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here