काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने ठेकेदारलाई कालोसूचीमा नभएर अँध्यारो सूचीमा राख्नुपर्ने जनाएका छन् ।
राष्ट्रिय योजना आयोगको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री ओलीले काम नगर्ने ठेकेदारलाई नच्याप्न मन्त्रीहरुलाई चेतावनी समेत दिएका छन् । ठेकेदारका कारण देशकै बदनाम भएको भन्दै काम नगर्ने ठेकेदारसँग उदार नहुने पनि उनले जनाए।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले पूरा नभएका आयोजनाको म्याद थप्नुपर्ने जनाएपछि प्रधानमन्त्री ओलीले कामै नगर्ने नियत भएका ठेकेदारको म्याद थप्न नसकिने जनाए ।
उनले भने,‘ठेकेदारहरुलाई राजनीतिक प्रोटेक्सन भएसम्म विकास हुन्न, यसलाई अन्त्य गर्नैपर्छ, काम नगर्ने ठेकेदारको ठेक्का तोड्ने मात्र नभै भविष्यमै अयोग्य हुनेगरी कारबाही गर्नुपर्छ ।’
सरकारलाई आर्थिक भार नपर्ने गरी पूरा हुनै लागेका आयोजनामा ठेक्काको समय अलिकति थप्न सकिने तर काम नगर्ने नियत भएका ठेकेदारसँग सम्झौता तोडेर क्षतिपूर्ति असुल्न पनि उनले निर्देशन दिए ।
कार्यक्रममा सङ्घीय सरकारका मन्त्री, विभिन्न प्रदेशका मुख्यमन्त्री, योजना आयोगका उपाध्यक्षसहितका पदाधिकारी र विभिन्न सरकारी अधिकारीहरूको सहभागिता थियो।

















