काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा संगठन विभागका प्रमुख वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीपछि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने खुलासा गरेका छन् । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गौतमले अध्यक्षद्धय ओली र प्रचण्डबीच आलोपालो सरकार सञ्चालनबारे सहमति भएको कुरा पुष्टि समेत गरे ।
नेता गौतमले आफ्नो पार्टी नेपाली जनताको साथी र असल मित्र रहेको पनि जनाए । उनले भने,‘अब देशभित्र रहेको गरिबी समाप्त पार्ने काम यो पार्टीले गर्छ । हाल हामीलाई मुलुकलाई अघि बढाउने ऐतिहासिक अवसर प्राप्त भएको छ । सोहीअनुसार वर्तमान सरकार अघि बढिरहेको छ ।’ आगामी तीन वर्षभित्र देशलाई आफूहरुले धेरै माथि उठाउनेपनि उनको दाबी छ । देशमा विद्यमान रहेको गरिबीलाई हटाउने उनको प्रतिबद्धता छ ।
अहिले देश समाजवादउन्मुख दिशामा नै अघि बढिरहेको पनि उनले विश्वास दिलाए । गौतमले भने,‘यो समाजवादउन्मुख होईन कि मेरो लाईन त समाजवाद नै हुनुपर्छ भन्ने हो । समाजवादउन्मुख भनेर संविधान र पार्टीको कार्यक्रमले पनि भनिसकेको सुनाउँदै आफूले त समाजवाद नै लागु गरिहालौं भनेको पनि सुनाए । नेता गौतमले यो देशमा कम्युनिष्ट पार्टीलाई कहिल्यैपनि र कसैलेपनि पराजित गर्न नसक्ने गरि पार्टी निर्माण गर्ने पनि आफ्नो महत्वकांक्षी योजना रहेको जनाए ।


















