पोखरा थन्डर्स अङ्क तालिकाको शीर्ष स्थानमा

63

काठमाडाैँ / नेपाल सुपर लिग (एनएसएल) को आफ्नो चौंथो खेलमा पनि अपराजित यात्रा कायम राख्दै पोखरा थन्डर्स अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। बुधबार साँझ दशरद रङ्गशालामा भएको खेलमा पोखराले स्पोर्टिङ इलामलाई १–० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो।

जारी सिजन एनएसएलमा डेब्यु गरेको इलाम पहिलो हाफमा पोखरामाथि हावी भएपनि दोस्रो हाफको सुरुवातमानै गोल खान पुग्दा पुन खेलमा फर्किन असफल भयो। पहिलो हाफमा निरन्तर पोखराको पोस्टमा आक्रमण गरेर गोलविहीन बनेको इलाम विरुद्ध सिमित मौकामा पाएको बललाई जालि चुमाउँदा पोखरा भने ८ अङ्क बनाएर शीर्ष स्थानमा उक्लियो। उसले शीर्ष स्थानको धनगढीलाई पछि पारेको हो।

पोखराले ४७ औं मिनेटमा सञ्जिव विष्टको गोलमार्फत अग्रता लिएको थियो।आयुष घलनाको कर्नमा थिओमले क्लियर गर्न नसकेको बललाई सन्जिवले सहज रुपमा गोलमा परिणत गरेका थिए। उक्त गोलनै पोखराको जितमा निर्णायक बन्यो। त्यसअघि मोसेस ग्याबाले गरेको प्रहार पोस्टमा लाग्दै गोललाईनबाट फर्किदा पोखरा स्तब्ध बनेको थियो। तर त्यसको अर्को मिनेटमानै उसले अग्रता बनायो।

इलामको भने यो जारी प्रतियोगितामा तेस्रो हार हो। पहिलो खेलमै काठमाडौंसँग पराजित भएको इलामले त्यसपछि इस्टर्न डर्बीमा एफसी झापालाई हराएर पहिलो जित निकालेको थियो। तर पछिल्लो खेलमा इलाम बुटवल लुम्बिनीसँग पराजित हुन पुगेको थियो। बुधबार पनि इलाम निरास हुन पुग्यो।

जारी संस्करण अपराजित पोखरा ४ खेलबाट ८ अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पोखराले प्रतियोगितामा पहिलो खेलमा चितवनलाई पराजित गर्दै सुखद सुरुवात गरेको थियो भने त्यसपछि ललितपुर सिटी र झापा एफसीसँग अङ्क बाँड्दै अपराजित रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here