डुइङ बिजनेश इन्डेक्समा नेपाल १६ स्थान माथि उक्लियो

235

काठमाडौं / व्यापार व्यवसाय गर्ने वातावरणको सूचकांक अर्थात् डुइङ बिजनेश इन्डेक्समा नेपालले सुधार गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको नयाँ रिपोर्टअनुसार नेपाल उक्त सूचकांकमा १६ स्थान माथि उक्लिएको छ ।

नेपाल गत वर्ष उक्त सूचकांकमा ११० औं स्थानमा रहेको थियो । यस वर्ष भने नेपाल सुधार गर्दै ९४ औं स्थान पुग्न सफल भएको छ । ९४ औं स्थानमा उक्लिएको नेपालले ६३.२ अंक पाएको छ ।

विश्व बैंकको प्रतिवेदनअनुसार दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा छ । ६३ स्थानमा रहेको भारत पहिलो र ८९ स्थानमा रहेको भुटान दोस्रो स्थानमा छ । भारत गत वर्ष ७७ औ स्थानको थियो । भारत १४ स्थान माथि उक्लिएको हो ।

गत वर्ष नेपाल ५ स्थान खस्किँदै ११० औं स्थानमा पुगेपछि अर्थमन्त्री डा. युवराज खतिवडाले असन्तुष्टि प्रकट गरेका थिए । उनले नेपालको वास्तविक अवस्था बाहिर नल्याएको भन्दै पुनर्विचार गर्न विश्व बैंकलाई आग्रह समेत गरेका थिए ।

विश्व बैंकका अनुसार नेपालमा निर्माण अनुमतिका लागि दिने प्रक्रियामा यो वर्ष सुधार आएको छ । त्यस्तै, ऋण प्रवाह, अन्तरदेशीय व्यापार र ठेक्का सम्झौतामा नेपालमा पछिल्लो वर्ष सुधार भएको बैंकको अध्ययनले देखाएको छ । यद्यपि, नेपालमा व्यापार सुरु गर्न अझै कठिन रहेको उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here