काठमाडौं / कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन गृहमन्त्री रामबहादुर थापाका छोराको डिएनए परीक्षण गर्न माग गरिएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले पन्तको हत्यारा अझै पनि पत्ता नलागिरहेका सो हत्याकाण्डका तथ्य बाहिर ल्याउन गृहमन्त्री थापाका छोराको डिएनए परीक्षण गर्नुपर्ने माग गरेका हुन् ।
गत आईतबार ललितपुरमा आयोजित तरुण दलको ६६ औं स्थापना दिवसको कार्यक्रममा बोल्दै उनले गृहमन्त्री थापाका छोरामाथि लागेको आरोपलाई गलत सावित गरिदिन पनि डिएनए परीक्षण गर्न आफूले आग्रह गरेको जनाए । उनले भने – ‘तपाईँको छोरामाथि बालिका पन्तलाई बलात्कार गरेको आरोप लागेको छ, मलाई गलत सावित गरिदिनुस् तरुण दललाई गलत सावित गरिदिनुस्, त्यसका लागि डिएनए परीक्षण गरौं भन्ने मेरो कुरा हो ।’
अध्यक्ष बस्नेतले पार्टीका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कार्यक्रममा निर्मला हत्याकाण्डको तथ्य पत्ता लगाउन आफूले पटक–पटक गृहमन्त्री थापाको छोराको डिएनए परीक्षणको माग गर्दै आएको पनि जनाए ।
२०७५ साल श्रावण १० गते बालिका पन्तको बलात्कार पछि हत्या गरिएको अवस्था शव भेटिएको थियो । तर त्यसको तथ्य अहिलेसम्म बाहिर आउन सकेको छैन ।


















