कहाँनेर सूचना लुकाइयो ? – रिजाल

109

काठमाडौं /      बुधबार बिहान ९ बजे ग्राण्डी अस्पताल भर्ना भएर बिहीबार राति ९ बजे घर फर्किएका  प्रधानमन्त्री केपी शर्मा ओली को स्वास्थ्यस्थिति ‘गोप्य राखिएको’, ‘जनतालाई थाहा नदिएको’, ‘सल्लाहकारहरूले सूचना लुकाएको’, ‘पत्रकारलाई सूचनामा पहुँच नदिएको’ जस्ता चर्चाबारे  टिका टिप्पणी हुन थालेपछि  यसै सन्दर्भमा नेकपा केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले पत्रकारहरूलाई सूचनामा पहुँच नदिइएको आरोप सरासर गलत भएको तर्क गरेका छन्।

शुक्रबार प्रधानमन्त्रीको उपचारबारे सात बुँदा लामो धारणा सार्वजनिक गर्दै  रिजालले फेसबुक र ट्विटरमा छिटोछिटो अपडेट गर्ने नाममा व्यक्तिको गोपनीयताको हकको पनि ख्याल नगरी सबै कुरा माग्न खोज्नु गलत रहेको  जनाएका छन् । ‘प्रधानमन्त्रीलाई बिहान ९ बजे अस्पताल लैजानासाथ सबै कुरा सार्वजनिक गरिहाल्नुपर्ने माग उचित छैन’, उनले भनेका छन्, ‘धामी-झाँक्रीले जस्तो नाडी छामेर वा अनुहार हेरेर अनुमानका भरमा चिकित्सकले यही भएको हो भन्ने कुरै हुँदैन। एउटा मात्र होइन, अनेक परीक्षण गरेपछि मात्रै के भएको हो भन्न सक्छन्, जुन कुराको तत्कालै अपेक्षा उचित हुँदैन।’ विष्णु रिजालको भनाइ जस्ताको तस्तै :

१) सबैलाई थाहा छ, प्रधानमन्त्रीको स्वास्थ्य ठीक छैन, मृगौला प्रत्यारोपण गरिएका कारण उहाँ नियमित रुपमा चिकित्सक र अस्पतालको सम्पर्कमा हुनुहुन्छ । केही समयअघि मात्रै सिंगापुरबाट उपचार गरेर फर्केपछि पनि उहाँको नियमित स्वास्थ्य परीक्षण भइरहेको छ । यस्तो अवस्थामा स्वास्थ्यमा समस्या उत्पन्न हुनासाथ हो-हल्ला गरेर के-के न भयो भन्ने जस्तो गरेर प्रचार गर्नु आवश्यक छैन ।

२) कुनै पनि सार्वजनिक पदमा रहेको व्यक्ति, त्यसमा पनि मुलुकको प्रमुख कार्यकारीको स्वास्थ्यका बारेमा थाहा पाउने जिज्ञासा आम नागरिकमा हुनु अस्वाभाविक होइन । तर, विहान ९ बजे अस्पताल लैजानासाथ सबै कुरा सार्वजनिक गरिहाल्नुपर्ने माग उचित छैन । धामी–झाँक्रीले जस्तो नाडी छामेर वा अनुहार हेरेर अनुमानका भरमा चिकित्सकले यही भएको हो भन्ने कुरै हुँदैन । एउटा मात्र होइन, अनेक परीक्षण गरेपछि मात्रै के भएको हो भन्न सक्छन्, जुन कुराको तत्कालै अपेक्षा उचित हुँदैन ।

३) प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिका बारेमा ‘सूचना लुकाएको’ भनेर विशेषगरेर प्रेस सल्लाहकार डा। कुन्दन अर्यालको आलोचना भइरहेको छ, जुन बिल्कुलै उचित छैन । किनभने, प्रधानमन्त्री अस्पताल भर्ना भएको कुरासम्म उहाँबाट पुष्टि गर्न खोज्नुपर्छ, त्यसबाहेकका स्वास्थ्यसम्बन्धी सूचना अस्पताल वा चिकित्सकबाहेक सल्लाहकारसँग सोध्नु उचित हुँदैन । फेरि प्रधानमन्त्री अस्पताल भर्ना हुनासाथ सल्लाहकारले अनलाइन, ट्वीटर र फेसबुकका लागि मसालेदार हुने गरी ‘हो, अवस्था गम्भीर छ’ भन्दैन । दुवै दिन अस्पतालले वक्तव्य निकालेको छ, दोस्रो दिन त पत्रकार सम्मेलन नै गरेको छ । अनि कहाँनेर सूचना लुकाइयो ?

४) प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा चासो हुनु र सूचना पाउने अपेक्षा गर्नु स्वाभाविक हुन्छ । तर, बालुवाटारबाट ‘अस्पताल जानै लाग्नुभयो, अस्पताल पुग्नुभयो, अब लिफ्ट चढ्न थाल्नुभयो, डाक्टर आउनुभयो, अब परीक्षण हुनै लाग्यो, पहिलो परीक्षण भयो’ जस्ता सूचनाको अपेक्षा हो भने त्यो व्यर्थ छ ।

५) विरामीको व्यक्तिगत जीवन र गोपनीयताका बारेमा पत्रकार संवेदनशील हुनैपर्दछ । सूचना ब्रेक गर्ने नाममा नमरेको मान्छेलाई मरेको (माधव घिमिरे, अम्बर गुरुङ) भनेर समाचार लेख्दासमेत हामीलाई त्यसबाट सिक्ने फुर्सद छैन ।

६) स्वास्थ्य जस्तो विषयमा समाचार लेख्न हतार गर्नुपर्ने कुनै कारण छैन । केही दिनअघि वामदेव गौतमलाई सामान्य रुघाखोकी र ज्वरो आएपछि स्वास्थ्य परीक्षणका लागि टेकु जानुभएको रहेछ । कुनै पत्रकार मित्रले थाहा पाउनुभएछ र ‘वामदेव गौतमलाई डेंगुको आशंका’ भनेर समाचार लेख्नुभयो । पछि अनलाइनहरुले ‘आशंका’ भन्ने शब्दलाई हटाएर ‘वामदेव गौतमलाई डेंगु’ भनेर समाचार लेखेको लेख्यै गरे । परीक्षणबाट उहाँलाई सामान्य भाइरल भएको मात्र देखियो । तर, आफन्त, साथीभाइहरुलाई ‘मलाई डेंगु लागेको होइन’ भन्दाभन्दा उहाँ हैरान हुनुभयो । त्यसैले स्वास्थ्य कुनै समाचार ‘ब्रेक’ गर्ने विषय होइन ।

७) कुनै कुरा पत्रकारले तत्कालै थाहा नपाउँदैमा त्यो ‘गोप्य राखिएको’ वा ‘लुकाइएको’ भन्ने हुँदैन । ट्वीटर वा फेसबुक प्रयोगकर्तालाई छिटो-छिटो नयाँ कुरा लेख्न हतार हुन सक्ला तर त्यसैका लागि छिन-छिनमा सूचना उपलब्ध गराइरहनुपर्दछ भन्ने हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here