राष्ट्रिय फुटबलर डिस्कोमा भेटिँदा टिमलाई घाटा

66

काठमाडौं/ कतार छनोट अन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने राष्ट्रिय फुटबल टिमको शनिबार बिहान ११ बजे बिदाइ भयो। तर बिदाइमा टिमका नियमित सदस्यहरु फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अन्जन विष्ट र सन्तोष तामाङका साथै डिफेन्डर दीनेश राजवंशी थिएनन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनुशासनहीन गतिविधि गरेको भन्दै उनीहरुलाई टिमबाट बर्खास्त गरेको हो। राष्ट्रिय टिमको क्याम्पका रहेका उनीहरु विश्वकप छनोट खेल्ने जाने अघिल्लो रात ठमेलका डिस्को चहारिरहेका थिए। त्यो पनि रक्सीले पूरा मातेर। उनीहरू गएराती व्यवस्थापनलाई जानकारीसमेत नदिइ डिस्को गएको पाइएको हो। ‘यो असाध्यै दुःखद  कुरा हो। यसले राष्ट्रिय टिमलाई ठूलो अप्ठ्यारो परेको छ। राष्ट्रिय टिमको क्याम्प छाडेर डिस्कोमा गएर मदिरा सेवन गर्नु चानचुने गल्ती होइन। यो गम्भीर घटना घट्न पुगेको छ’ एन्फा प्रवक्ता किरण राईले भने।

राष्ट्रिय टिमबाट खेल्न जाने अन्तिम समयका चार खेलाडी कारबाहीमा परेपछि नेपाली टिममा अरु खेलाडी सामेल गर्नसमेत अप्ठ्यारो परेको छ। एन्फाले चार खेलाडीलाई हटाएपछि एक मिडफिल्डर सुवास गुरुङलाई मात्रै टिममा समेटेर भुटान लगेको छ। यसले गर्दा २३ सदस्यीय नेपाली टिम २० जनामा घटेको छ।

अझ त्यसमा पनि प्लेइङ सेटमा नै रहने मुख्य खेलाडीहरु नै नहुनु टिमका लागि कमजोरी बन्न सक्छ। अन्जन बिष्टले त विश्वकप छनोटमा चाइनिज ताइपेइविरुद्धको खेलमा दुई गोल नै गरेका थिए। जसले विश्वकप छनोटमा नेपालले अहिलेसम्म एक खेलमात्रै जित्न सकेको थियो। ‘बाँकी रहेका खेलाडीमार्फत पनि हामी राम्रो खेल प्रस्तुत गर्ने विश्वासमा छौँ। आश गरौँ टिमले राम्रो गर्नेछ’ प्रवक्ता राईले भने।

एन्फाले क्याम्पमा रहेका खेलाडीलाई निगरानीमा राख्न नसकेको हो कि भन्ने प्रश्नमा राई भन्छन्, ‘एन्फाले निगरानीमा राखेकै हो तर बाउन्ड्री नै क्रस गरेपछि के गर्न सकिन्छ र स्वयम खेलाडी नै अनुशासनमा नबसेपछि के लाग्छ र ? साँचो त साधुकै काम आउने त हो, चोरले त जति साँचो लगाएपछि फुटाइ नै हाल्छ।’

हाललाई राष्ट्रिय टिमबाट हटाए पनि अरु कारबाही के हुने भन्नेमा एन्फा छलफलमा नै रहेको छ। ‘यो गम्भीर घटना भयो। हामीले अहिले तत्काललाई राष्ट्रिय टिमबाट मात्र हटाएका छौँ। अरु कारबाही के हुने भन्ने हामी छलफल गर्छौंं। यो विषयमा एन्फा गम्भीर छ’ प्रवक्ता राईले भने।

कुवेतविरुद्ध घरेलु मैदानमा हुने खेल दशरथ रंगशाला तयार नभएपछि भुटानमा गर्ने एन्फाको प्रस्ताव एएफसीमार्फत स्वीकृत भएको थियो। अहिले कुवेत टिम भुटान पुगिसकेको छ।  बिमल र अन्जन यसअघि पनि यस्ता गतिविधिमा संलग्न रहेको पाइएको थियो। फुटबल खेलाडीका लागि ‘डिस्को कान्ड’ सामान्य जस्तै बनिसकेको अवस्थामा यसपटक एन्फाको कदमले भने खेलाडीलाई अनुशासनमा बस्न जोड गर्ला कि !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here