जनकपुरधाममा माछा–मासु तथा मदिरा निषेध

351

काठमाडौं / रामसीता विवाह महोत्सवलाई मध्यनजर गरी स्थानीय प्रशासनले जनकपुरसहित सीमा क्षेत्रमा माछा–मासु तथा मदिरा निषेध गरेको छ।

विवाहोत्सवमा देश विदेशबाट लाखौं दर्शनार्थी भक्तजन आउने भएकोले जिल्ला प्रशासन कार्यालय धनुषाले माछा–मासु तथा मदिरा बिक्रीवितरण एवम् सेवनमा रोक लगाएको हो।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले रामजानकी विवाहोत्सवलाई मध्यनजर गरी १२ मंसिरदेखि १६ गतेसम्म जनकपुरधाम प्रवेश गर्ने मुख्यद्वाररसीमा एवं जनकपुरधामस्थि परिक्रमा सडक र परिक्रमा क्षेत्रभित्र माछा–मासु तथा मदिरा बिक्रि वितरण, सेवन र कारोबारमा रोक लगाउने निर्णय भएको जानकारी दिए।

निर्णय कार्यान्वयन गर्न सरोकारवाला व्यवसायी, बुद्धिजीवी एवम् सर्वसधारणलाई आग्रह गर्दै उल्लंघन गरेका खण्डमा प्रचलित कानुनअनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।

यसका साथै विवाहोत्सवलाई ध्यानमा राख्दै घरआँगन, सडक, पेटी, नालालगायतका स्थान सफा राख्न व्यवसायी, नागरिक समाज, सरसफाई अभियान्ता सबैलाई जिल्ला प्रशासन कार्यालय धनुषाले आग्रह गरेको छ।

मंसिर १५ गते मनाइने रामजानकी विवाहोत्सवमा सहभागी हुन १२ मंसिरमा भारतको अयोध्या, वृन्दावनलगायतका विभित्र स्थानबाट जन्तीको रुपमा साधुसन्त आउने कार्यक्रम रहेको छ।

विवाहोत्सव मूल समितिले भव्यताका साथ रामजानकी विवापञ्चमी मनाउन साताव्यापी कार्यक्रम सार्वजनिक गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here