ओली–प्रचण्ड टकराव उत्कर्षमा

45

काठमाडौं । सत्तासीन नेकपामा हालै मात्र दुई अध्यक्षको कार्यविभाजन भएको प्रचार व्यापक गरियो । कार्यविभाजन गरिएपछि सरकारको नेतृत्व केपी ओलीले र पार्टीको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले गर्ने सहमति भएको प्रचारसँगै पार्टीपंक्तिको कतिपय ठाउँहरूमा खुशीयाली पनि मनाएको पाइयो । तर, यो खुशीयाली सत्तासीन पार्टीमा लामो समयसम्म टिक्न सकेन । सरकारको नेतृत्व ५ वर्षसम्म विना अवरोध गर्न पाएका केपी ओलीले पार्टीको कार्यकारी अध्यक्ष आफू नै भएको दाबी गरेपछि खुशीयाली मनाउने दाहाल पक्षमा रुवाबासी चल्नु स्वाभाविक हो ।

पार्टीको सचिवालय बैठकले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पाँच वर्ष नै प्रधानमन्त्री रहने र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको थियो । यो निर्णयले पार्टी एकतायता सृजना भएको दुई अध्यक्ष ओली र प्रचण्डबीचको विवाद साम्य हुने अनुमान गरिए पनि त्यसो हुने लक्षण देखिएको छैन, विवादले विभाजनले सम्भावनालाई संकेत गरिरहेको देखिन्छ ।

पार्टी एकताताका प्रधानमन्त्रीमा आलोपालो गर्ने सहमति गरेको भन्दै अध्यक्ष दाहालले सार्वजनिक रूपमा भन्दै आएका थिए । तर, प्रधानमन्त्री केपी ओलीले सरकार छाड्नेतर्फ कुनै चासो नदेखाएपछि दाहालले असन्तुष्टि जनाउँदै आएको अवस्थामा कार्यकारी अध्यक्षको जिम्मेवारी दाहाललाई दिइएको प्रचार गरियो । उनले आफूलाई कि प्रधानमन्त्री पद दिनुपर्ने कि त एकलौटी रूपमा पार्टी सञ्चालनको जिम्मेवारी दिन आग्रह गर्दै आएका थिए । सोही कारण पार्टीको सचिवालयले गरेको कार्य विभाजनले यो विवाद हल गर्ने निष्कर्ष निकालेको थियो ।

तर, कार्यविभाजनको एक साता पनि नबित्दै प्रधानमन्त्री केपी ओलीले आफू नै पार्टीमा ‘सिनियर’ अध्यक्ष रहेको र प्रचण्ड ‘जुनियर’ अध्यक्ष भएको भन्दै एक सञ्चारमाध्यमसँगको संवादमा स्पष्ट शब्दमा भन्नुभएको छ । यसले सत्तासीन नेकपामा अध्यक्षको विवाद अझै नसकिएको प्रष्ट पारेको छ । साथै, नेकपाका शीर्षस्थ नेताहरूमा शक्तिशाली पदको मोह नघटेको पनि प्रमाणित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सो संवादमा पहिलो अध्यक्ष आफू र दोस्रो अध्यक्ष प्रचण्ड भएको दाबीसमेत गर्नुभएको छ । ओलीको भनाइबाट हालसम्म भइआएको समान हैसियतका दुई अध्यक्षको समझदारीलाई पनि ओलीले अस्वीकार गरेको स्पष्ट हुन्छ । ओलीको भनाइ अनुसार– ‘अध्यक्ष कार्यकारी नै हुन्छ । दुवै कार्यकारी अध्यक्ष नै हो । यथार्थमा प्रथम म र द्वितीय उहाँ नै हुनुहुन्थ्यो । अध्यक्षता र सञ्चालन मैले नै गर्थें दुई अध्यक्ष भए पनि । म सरकारको काममा बढी लाग्नुपरेको छ । पार्टी र सरकारमा बराबर गर्ने पनि भनिएको थियो । बीचमा प्रधानमन्त्री फेर्दा जुन स्थायित्व ल्यायौँ, त्यसमा फेरि अस्थिरता हुने भयो । हामी आधाआधा गर्न तयार थियौँ । अहिलेको सन्दर्भमा स्थायित्व आवश्यक छ ।’

प्रधानमन्त्री ओलीले भन्नुभएजस्तै नेकपामा अन्य नेताले पनि अध्यक्षको कार्यविभाजनलाई मन पराएका छैनन् । विगत १ वर्षदेखि पार्टी स्थायी कमिटीको बैठक नबसेको उल्लेख गर्दै सत्तासीन नेकपाकै नेता भीम रावलले यदि प्रचण्डलाई कार्यकारीको जिम्मा दिइएको भए स्थायी कमिटीको बैठक बोलाउन आग्रह गरेका छन् । उनले भने– ‘साँच्चिकै कार्यकारी अध्यक्षको जिम्मेवारी पाउनुभएको हो भने उहाँले नै बैठक बोलाउनुपर्छ । जसरी कार्यविभाजन गरिएको छ, त्यो व्यवहारमा देखिनुपर्छ । भनेर मात्रै हामी पत्याउनेवाला छैनौं । यदि प्रचण्डले कार्यकारीको जिम्मेवारी पाउनुभएको हो भने तुरुन्तै स्थायी कमिटीको बैठक बोलाउनुपर्छ ।’

यसैबीच, हालै भएको मन्त्रिपरिषद् पुनर्गठनबाट नेकपामा असन्तुष्टि बढेर गएको पाइएको छ । प्रधानमन्त्री ओलीले मन्त्रीहरूको फेरबदल गर्दा राम्रा काम गरिरहेका मन्त्रीहरूलाई पनि हटाइएको र कार्यसम्पादनमा कमजोर देखिएका मन्त्रीहरू भने सरकारमै निरन्तरता दिएकोे भन्दै नेकपाका नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । सोही कारण हालै मात्र प्रधानमन्त्री ओलीले बहाल तथा बहिर्गमित मन्त्रीहरूलाई दिएको रात्रिभोजलाई बहिर्गमित मन्त्रीहरूले बहिष्कार गरेका थिए ।

मन्त्रिमण्डल हेरफेरपछि प्रधानमन्त्री ओलीले गत शनिवार बालुवाटारमा मन्त्रीहरूका लागि रात्रिभोजको आयोजना गरेका थिए । मन्त्रीहरूले प्रधानमन्त्रीलाई भेट्नै मुश्किल परेको गुनासो गरिरहेका बेला प्रधानमन्त्रीले सम्बन्ध बलियो बनाउनका लागि यो रात्रिभोज आयोजना गरेको बालुवाटार सचिवालयको भनाइ छ ।

उक्त रात्रिभोजमा हटाइएका नौ जना मन्त्रीलाई पनि दम्पतीसहित आउन प्रधानमन्त्रीको सचिवालयले निम्ता पठाएको थियो । तर, अक्षम भन्दै प्रधानमन्त्रीबाट बर्खास्त गरिएकाले ती सबै पूर्वमन्त्रीहरूले रात्रिभोज बहिष्कार गरेका छन् । ‘मन्त्री हुन्जेल प्रधानमन्त्रीसँग भेटघाट गर्न पटकपटक आग्रह गरेका थियौं,’ एक पूर्वमन्त्रीले जनधारणासँग भने– ‘तर विरलै मात्र हामीले भेट्ने मौका पायौं । प्रधानमन्त्रीबाट आवश्यक निर्देशन पाउन नसक्दा हामीलाई कार्यसम्पादनमा समेत असहज भएको थियो । अहिले रात्रिभोजमा बोलाउनुको के अर्थ छ र ?’

बहिर्गमित केही मन्त्रीले आफूले सरकारमा रहँदा राम्रो काम गर्दागर्दै पनि हट्नुपरेको गुनासो समेत गरेका छन् । केही नेताले भने प्रधानमन्त्रीसँगको केही विवाद हुँदा त्यही आधारमा आफूलाई कोपभाजनमा पारिएको आरोप लगाएका छन् । तत्कालीन श्रममन्त्री गोकर्ण विष्ट, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ लगायतको कार्यसम्पादनमा प्रधानमन्त्रीले कुनै खोट नऔंल्याएर १ वर्षको कार्यसम्पादन सम्झौताको अवधि समेत पूरा नहुँदै विना कारण एकैपटक सरकारबाट निष्कासन गरी कारबाही गरेझैं गरिएको गुनासो बहिर्गमित मन्त्रीहरूले गरेका छन् । – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here