काठमाडौं / काठमाडौं महानगरपालिका-३ महाराजगञ्ज चोकमा बा. ५ ख २५६५ नम्बरको बसबाट ओर्लने क्रममा बा. ५ ख ११७५ नम्बरको बसले सोमबार बिहान ठक्कर दिँदा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि शिक्षण अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । उक्त सवारी साधन सहित दुवै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तुकाे, बाणगंगा नगरपालिका-८ बोडगाँउस्थित पूर्वपश्चिम राजमार्गमा बा.८ च ६३९० नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेर बिजुलीको पोलमा सोमबार बिहान ठक्कर खाँदा कार चालक कपिलवस्तु नगरपालिका-९ बस्ने ३० वर्षीय सुरेश पाण्डेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सुरेशको सामुदायिक अस्पताल कपिलवस्तुमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















