काठमाडौं / भारतमा नागरिकता विधेयकको विरोधमा पूर्वी राज्यमा विरोध चर्किएको छ। भारतको राज्यसभाबाट पनि नागरिकता संशोधन विधेयक पास भएपछि आन्दोलन थप चर्किएको हो। विद्येयकको पक्षमा १२५ मत खसेको छ भने १०५ जनाले प्रस्तावको विरुद्धमा मतदान गरेका छन् ।
प्रदर्शन उग्र बन्दै गएपछि गुवाहाटीमा अनिश्चिकालिन कर्फ्यू लगाइएको छ। मानिसहरु कर्फ्यूको पनि उल्लंघन गर्दै विरोधमा उत्रेका छन्। उक्त क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
नागरिकता विधेयकमा भारतसँग सीमा जोडिएका अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट धार्मिकरुपमा प्रताडित भएर भारतमा शरण लिँदै आएका हिन्दु, बौद्ध, शिख, जैन, फारसी र क्रिश्चियनलाई भारतको नागरिकता दिने उल्लेख छ। यसमा मुस्लिम उल्लेख छैन। मुस्लिम समुदायलाई भेदभाव गर्ने गरी विधेयक ल्याएको भन्दै मुस्लिम समुदायबाट त्यसको तीब्र विरोध भइरहेको छ ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा ट्वीट गर्दै विधेयक पारित भएपछि कुनै चिन्ता नलिन आग्रह गरेका छन्। उनले ट्वीटमा भनेका छन्, ‘तपाइको विशिष्ठ पहिचान, अधिकार र संस्कृतिलाइ कसैले खोस्न सक्दैन। यो विषय झन् विकसित हुँदै जाने कुरा हो। उनले अगाडि भनेका छन्, केन्द्र सरकार संवैधानिक सुरक्षा, भाषा, संस्कृति तथा असमको क्षेत्रीय संस्कृतिप्रति प्रतिबद्ध छ।’
कोलकत्ता विमानस्थलमा सबै उडान र अवतरण रद्द गरिएको छ। आसाममा २४ घण्टाका लागि इन्टरनेट सेवा समेत बन्द गरिएको छ।


















