टोकियो / तमु धीं जापानको आयोजनामा हुने २५ औं ल्होसार साँझ तथा रजत जयन्ती २०२० लाई धमाकेदार बनाउन चर्चित लोकदोहोरी गायिका शर्मिला गुरुङ र लोक दोहोरी गायक राकेश गुरुङ टोकियो आउने भएका छन् । साथै चर्चित पप गायक सन्जिब गुरुङ हङकङबाट आफ्नो प्रस्तुती दिन टोकियो आउने भएका छन्।
स्थापनाको २५ वर्षे लामो इतिहास बोकेको तमु धीं जापानले तमुहरुको मौलिक संस्कृति परम्परालाई जिवन्त राख्न हरेक वर्ष ल्होसार र रोधीं साँझ जस्ता महत्वपूर्ण चाड पर्वहरू विविध साँस्कृतिक कार्यक्रम सहित मनाउदै आइरहेको छ ।
यसैलाई निरन्तरता दिँदै आफ्नो गन्तब्यको अविरल यात्रामा लम्कन र आफुलाई अझ परिस्कृत, परिमार्जित र जिवन्त राख्न आफ्नो स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा संस्थाले रजत जयन्ती तथा ल्होसार साँझको तयारी गरिरहेको महासचिव चित्र गुरुङले जानकारी दिनुभयो ।
विदेशी भूमिमा रहेर पनि आफ्नो मौलिक कला संस्कृतिको संरक्षण, संबर्धन र आदिबासी जनजातिको हक अधिकारको आवाज बुलन्द गर्दै आइरहेको तमु धीं जापानले अध्ययन तथा रोजगारीको सिलसिलामा जापानलाई आफ्नो कर्म थलो बनाई बसेका तमुहरू बिच एकता, समिप्यता र भाइचाराको सम्बन्ध कायम गर्दै आइरहेको छ। विदेशमा रहेका नेपालीहरुको साझा समस्याप्रति प्रतिबद्ध रहनुका साथै भैपरी आउने समस्यप्रति सधै साथ दिदै आइरहेको छ ।
यसैगरी कार्यक्रममा वरिष्ठ लोक तथा दोहोरी गायिका शर्मिला गुरुङलाई सम्मान पनि गरिने छ। गुरुङले विभिन्न लोकप्रिय लोक तथा दोहोरी गीतहरु गाइ नेपाली मौलिक लोक संस्कृति र कलाको प्रवर्धन तथा संरक्षणमा महत्वपूर्ण योगदान दिनुभएको छ ।
कार्यक्रलाई थप मनोरन्जन दिलाउन द भ्वाईस अफ नेपाल सिजन-२ का नकआउट राउन्ड पुग्न सफल भ्वाईसका रकस्टार कुमार गुरुङ (काले), सालैजो तथा दोहोरी गायक रुपेश गुरुङ र स्थानिय कलाकारहरूको पनि प्रस्तुती रहेने छ । प्रत्येक वर्ष जनवरी २ मा ल्होसार मनाउँदै आएको तमु धींले यस पटक भने विविध कारणले जनवरी ४ मा मनाउने भएको छ ।
महासचिव गुरुङका अनुसार टोकियोको मध्य र व्यस्त स्थान उएनो ओन्सी पार्कको खुल्ला चौरमा गरिने भएकाले डोरी तान्ने खेल, वच्चाहरुका लागि चकलेट टिपाई र कुर्सी घुमाई खेलहरुको पनि आयोजना गरिने भएको छ ।
यसपटकको कार्यक्रम भिन्न र पृथक हुनेछ र साथै, सधैंजसो हल साँघुरो भयो भन्ने दर्शक तथा पाहुनाहरुको गुनासो पनि नआउने विश्वास पनि लिईएको छ । आयोजक संस्थाले जापानवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी वहिनीहरुमा हार्दिक निमन्त्रणा गरेको छ ।


















