सत्तासीन नेकपा स्थायी समिति बैठक भोलि पनि बस्ने

101

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक भोलि पनि बस्ने जनाइएको छ । तीनदिन देखि लगातार चलेको बैठकमा अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी ओलीको राजनीतिक प्रतिवेदनमाथि नेताहरुले विभिन्न कोणबाट आफ्ना धारणा राख्ने क्रम जारी रहेको छ ।

नेकपाको केन्द्रीय कार्यालय धुमबाराहीमा अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको आजको बैठकमा राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावहरु माथि स्थायी कमिटीका सदस्यहरुले प्रतिवेदन र संशोधन प्रस्ताव मूलतः सही रहेको धारणा राख्दै थप परिमार्जन र सुधारका लागि सुझाव र आलोचनात्मक टिप्पणी गर्ने क्रम जारी रहेको जनाइएकाे छ ।

यसक्रममा आज १३ जना सदस्यहरु तथा आमन्त्रित सदस्यहरुले सुझाव र धारणाहरु राखेका छन् । जसमा नन्दकुमार प्रसाईं, सुरेन्द्रप्रसाद पाण्डे, अमृतकुमार बोहरा, बेदुराम भुसाल, शंकर पोखरेल, रघुवीर महासेठ, केशव बडाल, विष्णुपुकार श्रेष्ठ, लेखराज भट्ट, घनश्याम भुसाल, शक्ति बस्नेत, मणि थापा र जनार्दन शर्मा रहेका छन् ।

राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएबमोजिम पार्टी एकतालाई अझ सुदृढीकरण गर्नुपर्ने, पार्टीको कार्ययोजना ठोस र व्यवस्थित हुनुपर्ने, सरकारको काम अझ प्रभावकारी हुनुपर्ने जस्ता सुझावहरुमा आजका वक्ताहरु केन्द्रित रहेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here