वर्तमान सरकार फाँसिवादतर्फ उन्मुख भएको गजुरेलको आरोप

164

काठमाडौं / भारतले सीमा मिचेको विषयमा आयोजित विरोध प्रदर्शनका क्रममा पक्राउ परेपछि सरकारका  नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)सम्बद्ध देशभक्त गणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले वर्तमान सरकार फाँसिवादतफ उन्मुख भएको आरोप लगाएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गजुरेलले हिजो सिमा अतिक्रमणबारे नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार जाने क्रममा आफूहरुलाई गिरफ्तार गरेकोमा आपत्ति जनाउँदै यस्तो आरोप लगाएका हुन् ।

उनले भने,‘ हिजोको घट्ना पूर्व अनुमानभन्दा बाहिरको घट्ना हो । हामी सरकारलाई जानकारी गराएर नै ज्ञापनपत्र बुझाउन सिंहदरबार गएका थियौं । तर, प्रहरी ज्यादती भयो । हाम्रा साथीहरुमाथि अन्धधुन्ध लाठी चार्ज भयो । हामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन चाहेका थियौं, तर उहाँ पूर्णतयः बेड रेष्टमा भएको खबर उहाँको सचिवालयबाट आएपछि हामीले पनि रक्षामन्त्रीलाई नै ज्ञापनपत्र बुझाउने भनेर समय लिएरनै त्यसतर्फ गएका थियौं ।’

गजुरेलले हनुमानस्थान् परिसरबाटै आफूहरुमाथि धरपकड भएको सुनाए । उनले भने,‘त्यहाँ खटिएका प्रहरीहरु डिएसपीको कमाण्डमा थिए । हामीले शान्तिपूर्ण रुपमा आफ्नो र्याली निकाल्दा किन यसो गरिएको भनेर डिएसपीलाई सोध्दा उहाँले माथिको आदेश भन्नुभयो । हामीले पनि उहाँलाई भन्यौं, माथिको आदेश दिने मान्छे को रैछ ? हामी पनि जानौं न भनेर सोध्दा गिरफ्तार गरियो । अन्धधुन्ध लाठीचार्ज गर्दा ८ जनाभन्दा बढि घाईते भए ।’

उनले हिजो घटेको घट्ना प्रायोजित थियो भन्ने दाबी गरे । नेपालको भूमी लिम्पियाधुरा, कालापानी र लिपुलेक राखेर भारतले नयाँ नक्शा निकालेपछि आफूहरुले भारतको सो कदमको विरोध गरेको पनि उनले सुनाए । गजुरेलले भने,‘भारतले आफ्नो नयाँ नक्शामा नेपाली भूमी राखेपछि अहिले नेपालमा पार्टीहरु, विभिन्न संघ, संस्था, बौद्धिक व्यक्तिहरु, ख्याँतिप्राप्त कलाकारहरुले पनि विरोध गरे । हामी पनि विरोधमा उत्रिएका थियौं । पछिल्लो समय यो शिथिल भएको थियो । हामीले फेरी यो विषयलाई उठायौं । सरकारले कतै यो विषयलाई दबाएर लैजान चाहेको थियो होला रु हामीलाई त हिजोको सरकारी कदमबाट यो आशंका पैदा भएको छ ।’

हिजोको घट्नालाई लिएर सामाजिक सञ्जाल तथा मूलधारका मिडियामा राम्रो कभरेज भएको पनि उनले सुनाए । गजुरेलले भने,‘हिजोको कदमले मुलुकमा ध्रुवीकरण पैदा गरेको छ । यो गम्भिर खतराको कुरा हो । देशको सीमा मिचिएको विषयमा कुरा उठाउँदा हामीलाई देशभक्त भनिएको छ । अनि देशभक्तहरुमाथि नै किन दमन गरियो ?  हामीमाथि नै लाठी चार्ज भयो ।’

राष्ट्रिय स्वाधिनताको पक्षमा नारा लगाउँदा आफूहरुको ब्यानर च्यातिएको उनको गुनासो छ । उनले भने,‘राष्ट्रिय स्वाधिनताको पक्षमा बोल्दा हाम्रा ब्यानर च्यातिए । हामीले त सरकारसँग सहकार्य गरेर जान चाहेका थियौं । तर, हामीले नचाहँदा नचाहँदै देशमा ध्रुवीकरण हुन लाग्यो ।’ भारतले नेपाली भूमी मिचेर आफ्नो नक्शा जारी गर्दा नेपालले भने आफ्नो नक्शा पनि जारी गर्न नसकेको उनको आरोप छ । उनले भने,‘सरकारले आफूले गर्नुपर्ने काम पनि गरेन ।’ उनले नेपालको संविधानलाई विश्वकै सर्वोत्कृष्ट भनेर चर्चा गरिएको सुनाउँदै देशको संविधानमा निशान छाप नै भारतीय नक्शाको डुप्लिकेट रहेको टिप्पणी गरे । उनले भने,‘लिम्पियाधुराको चुच्चो नै गायब छ । यो त हद भयो ।’

गजुरेलले मुलुकमा यतिवेला महँगी, भ्रष्टाचार, दमन, अत्याचार विद्यमान हुँदाहुँदैपनि सबै कुरा सहेर सरकारलाई पनि साथमै लिएर राष्ट्रिय स्वाधिनताको पक्षमा आवाज उठाएको बताए । उनले भने,‘हामी त नक्शा बनाउन सक्छौं । तर, के गर्नु हामीले बनाएको नक्शा बैद्य हुँदैन् । सरकारले जारी गर्दा पो बैद्य हुन्छ ।’

उनले नेपालको सीमा मिचिएको विषयमा नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले आफ्नो तहमा वार्ता गर्नुपर्ने बताए । उनले भने,‘प्रधानमन्त्रीको लेभलमा किन वार्ता भएन ? मोदी र ओलीबीच वार्ता हुनको लागि के ले रोक्छ ? किन लापरवाही ? हिजो जनकपुरमा मोदीजी आउँदा राजस्थानी लुगा लगाएर भेट्न गएको होईन ?’ उनले आफूहरुले मोदीलाई भेटेर नहुने भन्दै सरकारले यो काम गर्नुपर्ने सुझाव दिए । उनले सरकारको क्रियाकलाप हेर्दा सरकार फाँसिवादतर्फ जान लागेको टिप्पणी गरे । उनले भने,‘हिजो हामीलाई पक्राउ गरिएपछि पक्राउ परेका हाम्रा महासचिव परी थापाजीले रक्षामन्त्रीलाई फोन गर्नुभयो, किन यस्तो प्रहरी ज्यादती भनेर सोध्दा उहाँले तपाईहरुलाई अब सरकार फाँसिस्ट भयो भन्न सजिलो भयो भनेर भन्नुभयो ।’

उनले आफूहरुको लागि राष्ट्रियताको मुद्दा नै प्रधान भएको सुनाए । उनले भने,‘हाम्रो लागि देश ठूलो कुरा हो । राष्ट्रिय स्वाधिनताको रक्षा हाम्रो पार्टीको पहिलो उद्देश्य हो । कालापानी, लिम्पियाधुरा, लिपुलेक हाम्रो हो भनेर भन्न पाईँदैन ? यसो भन्दा हामीले के अपराध गर्यौं ?’ माईतीघर मण्डलामा पुषको जाडोमा सर्लाहीका उखु किसानहरु आन्दोलित भएको सुनाउँदै उनले वर्तमान सरकारलाई त्यो सुन्ने धैयर्ता नभएको जिकिर गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here