सुनसरी / सुनसरीको इटहरीबाट अपहरणमा परेकी एक स्टाफ नर्स युवतीले भागेर ज्यान जोगाएकी छन् । मंगलबार विराटनगरस्थित नोबेल मेडिकल कजेलमा स्टाफ नर्स अध्ययन गरेर तरहरा घर फर्किदै गरेकी १६ वर्षीया युवती इटहरीको गोर्खा डिपार्टमेन्ट स्टोर अगाडिबाट अपहरणमा परेकी थिइन् ।
बुधवार बिहान १ः३० बजेतिर अपहरणकारीको कब्जाबाट भागेर बाँच्न सफल भएकी उनको शरीरका विभिन्न भागमा चोट लाग्नुका साथै लगाएका कपडा समेत च्यातिएको छ । घाइते अवस्थामा रहेकी युवतीलाई प्रहरीले तत्काल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरी डिस्चार्ज गरेको छ ।
मंगलबार साँझ ७ बजे इटहरीबाट धरान आउँदै गरेको नम्बर नखुलेको पिकअफ भ्यानमा तरहरा जाने भन्दै चढेकी उनलाई गाडीका चालक र गाडीमा रहेकी एक महिलाले मुख थुनेर धरानतर्फ लगेका थिए ।
गाडीमा एक महिला देखेर आफू सुरक्षित हुने भएकाले तरहरा घर जान गाडी चढेकी उनलाई अपहरणकारीले गाडी नरोकी धरानको शिवधारा माथिको जङ्गलमा पुर्याएको उनले प्रहरीलाई जानकारी गराएकी छन् । अपहरणकारीको कब्जामा परेकी युवतीलाई यौन दुर्व्यवहार गरी घाइते बनाएपछि युवतीले भागेर ज्यान बचाएको पाइएको प्रहरीले जनाएको छ ।
युवतीको बयानका आधारमा घटनामा संलग्नहरुको खोजी शुरु गरिएको इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख प्रहरी निरीक्षक हेमराज ओलीले जनाएका छन् । प्रहरीका अनुसार अपहरणमा परेकी युवतीलाई महिलासहित गाडीका चालकले जबरजस्ती गर्न खोजेपछि आफू भागेर बाँच्न सफल भएको बयान दिएकी छिन् । युवतीको उजुरीअनुसार अपहरणकारीको पहिचान गरी पक्राउ गर्न प्रहरी परिचालन गरेको प्रहरी निरीक्षक ओलीले जनाएका छन् ।


















