काठमाडौं / राष्ट्रिय बालअधिकार परिषद्ले मापदण्डविपरीत सञ्चालित बालगृहबाट बालबालिको उद्धार गरेको छ । परिषद्ले मापदण्ड विपरीत सञ्चालित विभिन्न बालगृहबाट छ महिनामा ८० बालबालिकाको उद्धार गरेको छ ।
त्यसैगरी आर्थिक वर्ष २०७५÷०७६ मा बालगृहबाट १८६ बालवालिका उद्धार गरिएको परिषद्का प्रवक्ता रामबहादुर चन्दले जानकारी दिए । परिषद्ले उत्साह नेपाल ललितपुर, साहारा संस्था नवलपरासी, ऐश्वर्य बालगृह काठमाडौं र सौडोल महिला समाज काठमाडौंबाट ती बालबालिकाको उद्धार गरेको हो ।
आर्थिक वर्ष २०७४÷०७५ मा ९ बालगृहबाट १४७ बालबालिकाको उद्धार गरिएको थियो । विसं २०६९ देखि लागू गरिएको मापदण्डमा आवासीय बालगृह बालबालिकाको हेरचारको अन्तिम उपाय सुनिश्चित गरिनुपर्ने, बालगृहमा भर्ना गरिने बालबालिकाको पूर्ण परिचय खुल्ने व्यक्तिगत विवरण तयार गर्नुपर्ने र बालबालिकालाई बालगृहमा भर्ना गर्ने बित्तिकै आवास, पोशाक र भोजनको व्यवस्था गर्नुपर्नेलगायतका मापदण्ड राखिएको छ ।


















