मैले जब हरेक वर्ष पुस २७ गतेको दिन आउँछ पृथ्वीनारायणको एकता अभियानको प्रशंसा गरिरहने चाहना गर्दछु । जब पृथ्वीनारायण शाहलाई कस्तो दृष्टिकोणबाट हेर्ने भनेर नेपालीमाझ बहस सुरु हुन्छ । त्यतिबेला मैले नेपालको त्यो बेलाको अवस्थाको कल्पना गर्छु ।
पृथ्वीनारायण शाह जसले छरिएर रहेका बाइसे चौबीसे राज्यहरूलाई एकत्रित गरेर विशाल नेपाल खडा गरे, नेपालीलाई अस्तित्व प्रदान गरे, त्यो अभियानमा उनी कसरी सफल भए होलान् भनेर कल्पना गर्छु । यहाँ बसोबास गर्नेहरूलाई एउटा सार्वभौम भूगोलभित्र समेट्ने काम पृथ्वीनारायणले गरेका हुन् भन्ने कुरा स्पष्ट छ । उनकै अभियानबाट एउटा अखण्ड राष्ट्र नेपाल निर्माण भयो । त्यसर्थमा उनलाई नेपालको एकीकरणकर्ता र राष्ट्रनिर्माताको सम्मान दिनु स्वाभाविक हुन्छ । तर वर्तमान सरकारले त्यो सम्मान दिन सकिरहेको छैन । क्रिश्चियनहरूको प्रचारमा राज्यसंयन्त्रको सम्पूर्ण दुरूपयोग गर्ने धर्मनिरपेक्ष राष्ट्रको सरकारलाई देशको एकीकरणकर्ताप्रति सम्मान नजाग्नु स्वाभाविक मान्नुपर्ने अवस्था देखिएको छ ।
केही व्यक्तिहरू पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माताको रूपमा नलिई उनलाई एक क्रूर शासकको रूपमा चित्रण गर्ने गर्दछन् । त्यो क्रूरताको नमुनाको रूपमा पृथ्वीनारायणले कीर्तिपुरेहरूको नाक काटेको भनेर हल्ला चलाउने गर्दछन् । त्यसै आधारमा पृथ्वीनारायण शाह एकताका प्रतीक कदापि हुन सक्दैनन् भन्ने बकवास पनि गर्ने गर्दछन् । पृथ्वीनारायण शाहले कीर्तिपुरबासीहरूको नाक काट्नुपर्ने कारण के परे होला ? के साँच्चै नाक काटिएकै होला ? बाइसे चौबीसे राज्यलाई एकीकरण गर्ने अभियानमा लागेका एउटा नेताले नागरिकहरूको नाक काटेर स्वयं अपमानित हुने काम गरे होलान् भनेर विश्वास गर्ने आधार छैन । यस्तो निराधार आरोप लगाउने काममा स्थानीयवासीहरूलाई भड्काउने मनशायका साथ क्रिश्चियन धर्मावलम्बीहरूको विशेष सक्रियता देखिन्छ ।
पृथ्वीनारायण शाहलाई कीर्तिपुरमाथि विजय प्राप्त गर्न ठूलो कठिनाइ भोग्नुपरेको थियो भन्ने कुरामा केही सत्यता अवश्य छ । उनले तेस्रो पटकको आक्रमणपश्चात् मात्र कीर्तिपुरमा आफ्नो विजयको झण्डा फहराएका थिए । त्यो विजय प्राप्त गर्न पनि उनले पहिलो आक्रमणमा काजी कालु पाँडेलाई गुमाउनुपरेको थियो भने दोस्रो युद्धमा आफ्नै भाइ सुरप्रताप शाहको पनि आँखा फुटेको थियो । तेस्रो पटकको आक्रमणमा सहजै जीत हासिल गरेका थिएनन् । त्यसका लागि उनले महिनौँसम्म कीर्तिपुरमा नाकाबन्दी लगाएका थिए । कीर्तिपुरवासीहरूको भन्दा पनि एकीकरण अभियानमा अवरोध गर्नेहरूलाई असहयोग गर्ने अभियानमा पृथ्वीनारायणले नाकाबन्दीजस्तो अस्त्र पनि प्रयोग गर्नुपरेको बुझ्न सकिन्छ । यसरी ठूलो दुःखपश्चात् उनले कीर्तिपुरमाथि विजय हासिल गरेका थिए । तर कीर्तिपुरमाथि विजय हासिल गर्न कठिनाइ भोगेका कारण कीर्तिपुरबासीहरूको नाक काटेको भन्ने प्रचार गरियो । यस्तो प्रचारमा कुनै सत्यता देखिँदैन, कुनै प्रमाण पनि छैन । केवल मनगढन्ते र पृथ्वीनारायण शाहको बारेमा भ्रम सिर्जना गर्ने तथा नेपालीहरूको एकतामाथि कुदृष्टि लगाउनेहरूको षड्यन्त्रबाहेक यो प्रचारबाजी अरु केही होइन ।
कीर्तेपुरेहरूको नाक काटिएको सन्दर्भबारे राजनीतिक विश्लेषक सौरभले यस्तो उल्लेख गरेका छन्, ‘सन् १७६६मा कीर्तिपुरको जनसंख्या २ हजार २ सय ५० मात्र थियो । अब वृद्ध, महिला, बालबालिका छाडेर युद्धयोग्य जनसंख्या हुन आउँछ एक चौथाइ अर्थात् ५ सय ६० जना । ती नाकहरूको तौल १७ धार्नी (करिब ८० पाउण्ड) । जम्मा ८६५ जनाको नाक काटिएको थियो । १७ धार्नी बराबर ८० पाउण्ड हुँदैन । ८९.७ पाउण्ड हुन्छ । एक व्यक्तिको नाकको तौल २० ग्रामदेखि २५ ग्राम हुन्छ । २५ ग्राम नै मानौं, १ धार्नी बराबर २.४ किलोग्रामको हिसाबले १७ धार्नी बराबर ४०.७ किलोग्राम नाक हुन आउँछ । जसको अर्थ हो १६२७ जनाको नक काटियो । यो ८६५ को करिब दोब्बर छ । यसलाई भनिन्छ, ढाँटेको कुरा काटे पनि मिल्दैन ।’
पराजयलाई नाक काटिनुको अर्थमा नेपाली समाजले लिने भएको कारणले पनि यथार्थमा नाक नकाटिए पनि पृथ्वीनारायण शाहलाई बद्नाम गराउन कीर्तिपुरेहरूको नाक काटिएको भन्ने हल्ला फैलाइएको हो भन्ने कुरा सौरभको तर्कसंगत र तथ्ययुक्त विश्लेषणबाट स्पष्ट हुन सकिन्छ । एकीकरणमार्फत नेपालको सिर्जना गरेर एउटा सार्वभौम राष्ट्र खडा गर्ने व्यक्तिमाथि विभिन्न लाञ्छनाको हिलो छ्यापेर नेपालीहरूबीच नै वैमनस्यता र मनमुटाव सृजना गरी आफ्नो स्वार्थसिद्ध गर्न खोज्ने कुत्सित मनसायका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैरीहरूले वर्षौंदेखि यो योजना सुरु गरेका हुन् । यसवर्ष काठमाडौंमा भएको क्रिश्चियनहरूको प्रचार कार्यक्रममा सरकार स्वयं र सत्तासीन पार्टीका वरिष्ठ नेतासमेत सक्रिय भएबाट झनै पुष्टि भएको छ । – जनधारणा साप्ताहिक


















