एजेन्सी – नोबल कोरोनाभाइरस ‘कोभिद–१९’ का कारण युरोपमा एक व्यक्तिको मृत्यु भएको छ। चीनको हुपेइ प्रान्तस्थित वुहान शहरबाट फैलन सुरु भएको कोरोनाको संक्रमणबाट फ्रान्स घुम्न गएको चिनियाँ पर्यटकको मृत्यु भएको बीबीसीले जनाएको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार चीनको हुपेइ प्रान्तको एक ८० वर्षीया वृद्धाको मृत्यु भएको छ।
मन्त्रालयले दिएको जानकारी अनुसार ती महिला १६ जनवरीमा फ्रान्स पुगेकी थिइन्। उनलाई २५ जनवरीमा अस्पताल भर्ना गरिएको थियो। मुख्य भूमि चीनबाहिर कोरोनाको संक्रमणबाट मृत्यु हुने फ्रान्स चौथो देश हो। यसअघि हङकङ, फिलिपिन्स र जापानमा एक–एक जनाको मृत्यु भइसकेको छ।
हालसम्मको तथ्यांकअनुसार हालसम्म विश्वभर ६७ हजार भन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ। तथ्यांकअनुसार चीनमा मात्र ६६ हजार ४ सय ९२ कोरोनाबाट संक्रमित छन्। ६ सय ५ अन्य २५ भन्दा बढी मूलुकका संक्रमित हुन्।
मृतकको संख्या विश्वभर १५ सय २७ पुगेको छ। चीनमा मात्र १५ सय २३ को मृत्यु भएको छ। चीनको हुपेइ प्रान्तस्थित वुहान शहरबाट फैलन सुरु भएको कोरोनासँग लड्न हाल विश्वभरका वैज्ञानिकले उपचारको पद्धतिबारे अध्ययन गरिरहेका छन्।


















