मुख्यमन्त्री गुरुङको कार्यालयमै रक्सी सेवन गरेको आलोचना भएपछि विज्ञप्ति निकालेर खण्डन

163

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको निजी सचिवालयले कार्यालयमै रक्सी सेवन गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि आइतबार विज्ञप्ति नै निकालेर त्यसको खण्डन गरेको छ ।

भिडियोमा मुख्यमन्त्रीको सरकारी कार्यकक्षमै मदिरापान गरेको भन्दै सार्वजनिक गरिएको छ । तर कार्यकक्षको भनेर चर्चा गरिएको फोटो र भिडियो भने उनको निवासमा रहेको बैठक कक्षको भएको पाइएको छ ।

निजी सचिवालयको तर्फबाट डिल्लीराम सिग्देलले निकालेको विज्ञप्तिमा समाचारको खण्डन गर्दै मुख्यमन्त्रीको जन्मदिनमा निवासमा पारिवारीक जमघटको व्यवस्था गरिएको प्रष्ट पारिएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘त्यहीँ क्रममा खिचिएका भिडियो र फोटाहरुलाई मुख्यमन्त्रीको सरकारी कार्यकक्षमै मदिरापान गरेको भन्दै सार्वजनिक गर्नु बिडम्वनापूर्ण छ ।’

‘गुरुङ जातिको संस्कारअनुसारको पारिवारीक जमघटको क्रममा कुनै मर्यादा विपरित कार्य नभएको र अतिरञ्जित गर्न खोजिए जस्तो त्यस्तो नियत पनि नरहेको स्पष्ट पार्न चाहन्छौँ । तसर्थ यस विषयमा कुनै भ्रममा नपर्नको लागि हामी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आग्रह गर्दछौँ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।