नेपाल-भारत प्राकृतिक ग्यास पाइपलाइनको अध्ययन सुरु

146

काठमाडौँ – रासायनिक मल उद्योग स्थापनाका लागि गोरखपुरदेखि रूपन्देहीसम्म प्राकृतिक ग्यास पाइपलाइनको अध्ययन सुरु गरिएको छ । मल उद्योग स्थापनाका लागि यस्तो ग्यास पाइपलाइन आबश्यक हुने भएकोले यसकोे सम्भाव्यता थालिएको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो ।

रासायनिक मल उत्पादनका लागि प्राकृतिक ग्यास कच्चा पदार्थ हो । यो मिथेन ग्यास हो । निगमका अनुसार समितिले पाइपलाइनसँगै नेपालमा रासायनिक मलको माग, बजार र व्यापारका बारेमा पनि अध्ययन गर्नेछ । भट्टराई भन्नुहुन्छ, नेचुरल ग्यास मल बनाउने कच्चा पदार्थ हो, फाइनल प्रोडक्ट बन्न ग्यास आवश्यक हुन्छ, हुन त यो ग्यासले गाडी चल्नेदेखि घरायसी प्रयोजनमा पनि प्रयोग गर्न सकिन्छ तर हामीले रासायनियक मलको उद्योग स्थापना गर्न ल्याउने तयारी गरेका हौँ ।

समितिले पाइपलाइन र मल उद्योगको सम्भाव्यता अध्ययन गर्नेछ । निगमका अनुसार गोरखपुरसम्म ग्यासको पाइपलाइन आउँदै छ । गोरखपुरदेखि नेपाल ल्याउन लामो दूरी नपर्ने भएकाले पनि सहज हुने देखिएको छ । सम्भाव्यता अध्ययन गर्न इन्डियन आयल कर्पोरेसन पनि तयार रहेकाले अध्ययन थालिएको हो

नेपाल कृषि प्रधान देश भए पनि किसानले खेती गर्ने मौसममा मल नपाउने समस्या बर्षेनी दोहोरिन्छ । मल उत्पादनले भारतसँगको व्यापार घाटा कम गर्ने भट्टराईको दाबी छ । उहाँ भन्नुहुन्छ, सम्भाव्यता अध्ययनपश्चात् यो परियोजना सम्भावना छ छैन थाहा हुन्छ, मोटामोटी लगानी, आगामी दिनमा हुनसक्ने उत्पादन र व्यापारका बारेमा पनि आकलन हुन्छ, त्यसपछि दुई देशबीच छलफल र प्रक्रियाहरू अघि बढ्छ ।

निगमले पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यासको पाइपलाइनका परियोजना अघि बढाउन सिलगुढी–झापा पेट्रोलियम पाइपलाइन, अमलेखगञ्ज–लोथर र गोरखपुर–रूपन्देही प्राकृतिक ग्यास पाइपलाइनको प्राविधिक अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ । समितिमा निगम र इन्डियन आयल कर्पोरेसनका प्रतिनिधिहरू हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here