भक्तपुर – भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विहान अन्तर नगर एथ्लेटिक्स प्रतियोगिता अन्तर्गत पुरुषतर्फको ४२.१९५ कि.मी. म्याराथुन र महिलातर्फको २१.९७ कि.मी. हाफ म्याराथुनको सोमबार सिटी बजाएर उद्घाटन गर्नुभयो ।
पुरुषतर्फको म्याराथुनमा भक्तपुर नगरपालिकाका कृष्णसुन्दर तुईतुईले २ घण्टा ४१ मिनेट १३ सेकेण्डमा दुरी पूरा गरी प्रथम स्थान हासिल गर्न सफल भए भने कीर्तिपुर नगरपालिकाका धर्म महर्जनले ३ घण्टा ५ मिनेट ५१ सेकेण्डमा दुरी पूरा गरी द्वितीय र भक्तपुर नगरपालिकाका सुरेन्द्र ग्वाछाले ३ घण्टा १० मिनेट १ सेकेण्डमा सो दुरी पूरा गरी तृतीय स्थान हासिल गर्न सफल भए । त्यसैगरी महिला तर्फको हाफ म्याराथुनमा भक्तपुर नगरपालिकाका कान्छिमाया कोजुले १ घण्टा २५ मिनेट २१ सेकेण्ड, कीर्तिपुर नगरपालिकाका सकुन्तला ठगुन्नाले १ घण्टा ४० मिनेट ५२ सेकेण्ड र भक्तपुर नगरपालिकाका रेष्टिना सितिखुले १ घण्टा ५० मिनेट ४६ सकेण्डमा दुरी पूरा गरी क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए ।
४ x ४०० मिटर पुरुषतर्फको रिले दौड अन्तर्गत भएको प्रतियोगितामा भक्तपुर, मन्थली, चौतारा–साँगाचोक गढी नगरपालिका क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भए भने ४ x ४०० मिटर महिलातर्फको रिले दौड अन्तर्गत भएको प्रतियोगितामा भक्तपुर, ललितपुर, चौदण्डी गढी नगरपालिका क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।

















