जागृत हुँदै गरेका देशका सपना अलपत्र नपार्ने प्रधानमन्त्रीको दृढता

89

– चन्द्रप्रकाश बानियाँ

हामी नेपालीहरूमा गुनपच्चा संस्कार र प्रवृत्ति विकसित हुँदै गएको छ भन्दा फरक पर्दैन । भर्खर हिजोअस्ती मात्र जुम्ली तिरुवाले आफ्नै अन्नदाता पार्टीका अध्यक्ष प्रचण्डलाई जुत्ता प्रहार गर्ने धृष्टता प्रदर्शन गरे ! भारतमै जन्मेका । उतै बाबुको मृत्यु र आमाको पुनर्विवाहबाट वेसहारा बनेका तिरुवालाई आफन्तहरूले गाउँ ल्याउँछन् । तत्कालीन माओवादीमा गतिलै हैसियत बनाएका काकाहरूले तिरुवाको पिताको नाम शहीदको सूचिमा सामेल गरिदिन्छन् । दशलाखे क्षतिपूर्ति दिलाउँछन् । शहीद परिवारको नाममा पढाइ लेखाइको लागि छात्रवृत्ति पनि मिलाइ दिन्छन् । दूरदुर्गम जुम्लाको एउटटा गरीब परिवारको त्यो पनि आमा बाबुविहिन टुहुराले काठमाडौंमा पढ्ने सुविधा प्राप्त गर्छन् । उनले प्राप्त गरेको सुविधाको आधार फर्जी हुन्छ । परिवारले पाएको शहीदको सम्मान पनि नक्कली हुन्छ । गरीब असहायहरूको भरणपोषण र शिक्षादीक्षाको दायित्व सरकारको हो तर तिरुवाको सन्दर्भमा भने पार्टीले माया नगरिदिएका भए या त भारतमै वेपत्ता हुनुपर्ने अथवा जुम्लामै ज्यालामजदुरी गरेर जीवन यापन गर्नुपर्ने अवस्था हुन्थ्यो होला !

कर्तव्य सम्झेर भन्दा पनि सरकारलाई सकेसम्म ठग्दा फरक पर्दैन भन्ने मनोविज्ञानका कारणले तिरुवालाई शिक्षा, स्वास्थ्य र भरणपोषणको नागरिक अधिकार दिलाएको पार्टी प्रचण्डकै थियो । तिरुवालाई गुन लगाउने पार्टी त्यही थियो जसको नेतृत्वमा प्रचण्ड अझै कायम छन् । प्रचण्डको नेतृत्व नपाएका भए माओवादीले दशबर्षे जनयुद्ध सायदै चलाउँथ्यो होला । त्यो दशबर्षे युद्धले देशमा गणतन्त्र स्थापनामा बल पु¥यायो  र युद्धमा मारिनेहरूका नाममा १०÷१० लाखका दरले क्षतिपूर्ति दिलायो । जे जसरी भए पनि कैयौं तिरुवाहरूले त्यो सहुलियत कुम्ल्याउने अवसर पाए । तिरुवाको पार्टीमा कुनै योगदान थिएन । आन्दोलनमा संलग्नता पनि थिएन । उनको क्षतिपूर्ति पाउने हैसियतै थिएन । उनले जे जे प्राप्त गरे त्यो माओवादी पार्टीकै अनुग्रह थियो । उनले त पार्टीप्रति कृतज्ञ हुनुपर्ने गरी सहुलियत पाएका रहेछन् । सरकारलाई जे भनेर ढाँटिएको भए पनि आफ्ना बाबुको मृत्यु कहाँ र कुन सन्दर्भमा भएको थियो भन्ने कुरा तिरुवालाई रामं्रोगरी जानकारी थियो । आफू शहीदको सन्तान होइन र सरकारी सहयोग सहुलियत पाउने हैसियत आफ्नो थिएन भन्ने कुराबाट पनि उनी अनभिज्ञ थिएनन् । ती सबै कुरा बिर्सेर उनले त अन्नदाता मान्नुपर्ने पार्टीको नेतामाथि जुत्ता प्रंहार गर्नेजस्तो घोर अशिष्टता र कृतघ्नता प्रदर्शन गरेर ‘मानिसलाई गुन हुन्न’ भन्ने लोकोक्तिलाई सत्य प्रमाणित गरिदिए !

समयको यो कालखण्ड अर्थात नयाँ सरकारले दुईबर्ष सत्तामा बिताइसक्दा देशमा घोर निराशा व्याप्त छ । घर गाउँ, शहर बजार, खेत बारी, सडक गल्ली, चौर चौतारी जताततै ‘सरकारले काम गर्न सकेन’ भन्ने एकोहोरो गुनासोको तुमुल ध्वनी सुनिन्छ । हरेक वाद सम्वाद र चियो चर्चामा सरकारप्रति नागरिक असन्तुष्टि पोखिने गरेको देखिन्छ सुनिन्छ । सरकारप्रति जनताको आशा भरोशा टुटिसकेको छ । स्खलित भैसकेको छ । सम्भवतः तिरुवाको अभद्रता जनताको त्यही साझा असन्तुष्टिको अभिव्यक्ति हुनसक्छ । अर्थात त्यसलाई प्रतिनिधि घटना मान्न सकिन्छ । आक्रोश र असन्तुष्टि सबैमा छ । सबैको वाणीमा त्यो धेरैथोरै अभिव्यक्त भएको सुनिन्छ । समाजमा सबै खालका मानिसहरू हुन्छन् । आक्रोश र असन्तुष्टि व्यक्त गर्ने शैली पनि फरक फरक हुन्छ । आफ्ना भावनाहरूलाई नियन्त्रण गर्न नसकेर आवेग र आवेशमा चल्नेहरूले संयम गुमाउँछन् र अभद्रतामा उत्रन्छन् । तिरुवा त्यही कोटिका मनुवा होलान् सायद !

उच्च तहका नेताहरूमाथि पटक–पटक यस्ता कोर्काली हमलाहरू हुँदै आएका छन् । न प्रचण्ड सामाजिक हिंस्रक प्रवृत्तिको पहिलो शिकार हुन् न संसारमा नेपाल मात्र अपवाद हो । अन्त अरु मुलुकहरूमा पनि यस्तै अवाञ्छित व्यवहार प्रदर्शन भएका अनेकौैं उदाहरणहरू छन्, तर हात हालिहाल्ने र चोट छोडिहाल्ने अवस्थामा आम जनता किन पुग्छन् भनेर राजनीतिमा लाग्नेहरूले बुझ्नु भने जरुरी छ । ठूलठूला नेताहरूलाई तिरुवाजस्तै सनकीहरूले गोलीसमेत हानेका उदाहरण पनि अनेकौं छन् । पदम कुँवरलाई वीर बहादुर भनेर उल्क्याउनेहरूले तिरुवाको पीठ ठोकेको देखिन्छ । त्यो विल्कुल गलत हो । जो कसैलाई हिंसातिर प्रेरित गर्नु सामाजिक अपराध हो । हुनत उत्तेजित हुने र अभद्रतामा उत्रने सर्वसाधारण नागरिक मात्र हुदैनन् । चिन्तनले मानिसलाई डो¥याउँछ । मानिसले संगठन परिचालन गर्छ । मानिसको चिन्तन गलत भयो भने संस्था पनि गलत बाटोमा लाग्छ । छिमेकी देश भारतको सत्तारुढ दलले महात्मा गाँधीका हत्यारा नाथुराम गोडसेलाई देशभक्त मान्छ । गोडेसेका गुरु सावल्करलाई त पदमश्री जस्तो  प्रतीष्ठित पदकबाट मरणोपरान्त भए पनि सम्मानित गर्नुपर्छ भन्ने प्रस्ताव गरेको छ । अर्थात गलत मान्यताको पनि आफ्नो पक्ष हुन्छ । तिरुवा प्रवृत्तिको पनि एउटा पक्ष हाम्रोमा देखिनु आश्चर्यको विषय बन्दैन ।

दुई बर्ष अगाडि जस्तो न अब डबल नेकपा लोकप्रिय छ न प्रधानमन्त्री ओलीले आफ्नो व्यक्तिगत लोकप्रियता जोगाउन सकेका छन् । नेपाली जनताले नेकपा र ओलीप्रति ठूलो आशा भरोसा राखेकै हुन् । अपार समर्थन दिएकै हुन् । ठूलो विश्वास प्रकट गरेकै हुन् । तर दुई बर्ष बित्दानबित्दै त्यो विश्वास र आशाको महल गल्र्यामगुर्लुम्म ढलिसकेको छ । हाम्रो प्रधानमन्त्रीको स्थास्थ्य उति राम्रो छैन । त्यसैले होला कसै कसैले त प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने सल्लाह पनि दिन थालेका छन् भन्ने सुनिन्छ । अरु कारणले प्रधानमन्त्रीको राजीनामा माग्नेहरू पनि होलान् । साँच्चै त्यस्ता सल्लाह मानेर ‘म राजीनामा दिन्छु’ भनिदिने हो भने ‘हुँदैन, हामीलाई प्रधानमन्त्री ओली नै चाहिन्छ’ भन्ने स्वर सायदै सुनिएला । सरकार असफलसिद्ध भैसकेको छ । जनताले आशा मारिसकेको छ । पाँच बर्षको शासकीय आदेश पाएको सरकार हो यो । यस बिचमा अर्को सरकार चुन्ने अवसर मतदातालाई छैन । बरु सरकारको नेतृत्व फेरिँदा केही भैहाल्छ कि भन्ने मतदाताहरूलाई लाग्न सक्नेछ र प्रधानमन्त्रीको राजनीनामाको स्वागत गरिने पो छ कि ?!

शिक्षण अस्पताल छिर्नुपूर्व प्रधानमन्त्रीबाट देशबासीको नाममा दिइएको सम्बोधन सार्वजनिक भएको थियो । आवश्यक अनावश्यक वा उचित अनुचित भनेर त्यसबारेमा चर्चा चलाउनु ठिक नहोला तर ‘जागृत हुँदै गरेका सपना अलपत्र पारेर म अलप हुन्न’ भन्ने अभिव्यक्तिमा भने अतिरञ्जना छैन भन्न मिल्दैन । नेपाली जनताका सपना सरकारले पूर्णरूपमा तुहाइसकेको छ । कमसेकम वर्तमान प्रधानमन्त्रीबाट कृनै आशा अपेक्षा जनताले अब बाँकी राखेका छन् जस्तो लाग्दैन । होला, केही सेक्युरिटी प्रेस काण्डमा मुछिएका वा ललितानिवासको जग्गा प्रकरणमा रुमलिएकाहरूले प्रमबाट संरक्षणको आशा अझै राखेकै होलान् । त्यस्ता काण्डवालाहरू त धेरै होलान् र प्रधानमन्त्रीको अनुपस्थितिमा अलपत्र परिएला कि भन्ने चिन्ता होला तर नेपाली समाजले वास्तवमै गुमाउनुपर्ने केही रहने छैन । प्रधानमन्त्रीको त्यो आश्वासन र ढाडस त्यही दोश्रो कित्ताप्रति लक्षित हो भने ठिकै होला । होइन, त्यसको तारो अन्त कतै हो भने ‘थलो खनिन्छ कि भनेर ढुक्ने’ आफ्नै पार्टीका नेताहरूप्रति होला । अर्थात सास रहेसम्म जति नै असक्त भए पनि कुर्ची छोड्दिन भन्ने सन्देश प्रधानमन्त्रीबाट आएको हो भनेर बुझ्न कठिन छजस्तो लाग्दैन । र त्यो जनताको सरोकारको विषय होइन । बन्दैन ।

प्रधानमन्त्रीको अनुपस्थितिले अब मुलुकलाई कुनै नकारात्मक असर पर्दैन भन्नुको अर्थ उनको स्वास्थ्यप्रति असम्वेदशील हुनु होइन । हाम्रा लागि हाम्रा प्रधानमन्त्री प्रिय छन् । उनको स्वास्थ्य प्रति चासो र चिन्ता छ । होला, उनको अनुपस्थितिको लाभ लिने मान्छे पनि अवश्य होलान् । हुने नै भए । राजाविना गद्दी खालि हुदैन भनिन्छ । तर आम जनताका लागि ‘आफू मर्न परे जोसुकै राजा होस्’ भनेजस्तै हो । त्यसैले आग्रह पूर्वाग्रंह वा नाफा नोक्सानको कुरा होइन । तीतो वास्तविकताको कुरा हो । ओली नेतृत्वको वर्तमान सरकारले चिल्लो पात हाल्नै सकेन । जनताका नजरमा खरो उत्रनै सकेन । समाजबादलाई आदर्श मान्छु भन्ने सरकारले त्यतातिर पाइलो चलाउने लक्षणै देखाएन । होला, सरकार हातखुट्टा बाँधेर अवश्य बसेको होवोइन तर भूई तहका जनताको हितमा माखो मार्न नसकेको कुरा भने हजार प्रतिशत सत्य हो । त्यसैले वर्तमान प्रधानमन्त्री कतिन्ज्याल सत्तामा रहन्छन् भन्ने कुराले जनतालाई कुनै फरक पार्दैन । उनी विना सारा आशा अपेक्षामा पानी फेरिन्छ कि भन्ने चिन्ता पनि जनतालाई छैन । जनताका लागि सत्ता ‘बेल पाक्यो, कागलाई हर्ष न विस्मात’ भनेजस्तै भएको छ । हाम्रो समाज गुनपच्चा छ । प्रधानमन्त्रीबाट संरक्षण पाउनेहरूले कित्ता फेर्न कत्ति दकस मान्नेछैनन् बरु ।

उपचाररत प्रधानमन्त्रीज्यूमा शिघ्र स्वाथ्यलाभ र सुदीर्घ जीवनको शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here