एजेन्सी – पोर्चगिज फुटबलर क्रिष्टियानो रोनाल्डोले आफ्नो खेल जीवनको १,००० औं खेल खेलेका छन् । यसै खेलमा उनले कीर्तिमानी गोल समेत गरेका छन् । इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टसले एसपिएएललाई २–१ ले पराजित गरेको छ । क्लब तथा राष्ट्रिय टिमबाट सिनियर प्रतिस्पर्धामा आफ्नो हजारौँ खेलमा सहभागी भएका रोनाल्डोले ३९ औँ मिनेटमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।
यभुेन्टसका लागि ६० औं मिनेटमा आरोन रामसीले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । खेलको ६९ औं मिनेटमा पाएको पेनाल्टीमा पेटाग्नाले एसपिएएलका लागि एक गोल फर्काए । रोनाल्डोले खेल जीवनको हजारौँ खेलमा गरेको ३९ औँ मिनेटको गोल इटालियन सिरी ए फुटबलमा यसअघिको कीर्तिमानसँग बराबरी गर्ने गोल पनि बन्यो ।
रोनाल्डोले सिरी ए का पछिल्ला ११ खेलमा लगातार गोल गरेका छन् । यो ख्वान क्वाड्राडो, गाब्रिएल बातिस्तुता र फाबिओ क्वाग्लेरेलाले सिरी ए मा लगातार ११ खेलमा गोल गरेर बनाएको कीर्तिमानको बराबरी हो । यसै सिजन हालसम्म क्लब र राष्ट्रिय टिमबाट गरी ३६ खेलमा ३६ गोल गरेका छन् । उनले १ मार्चमा हुने इन्टर मिलानसँगको खेलमा गोल गरे सिरी ए मा लगातार बढी खेलमा गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाउन सक्नेछन् ।
जीतपछि शीर्षस्थानको युभेन्टसको २५ खेलबाट ६० अंक भएको छ । दोस्रो स्थानको लाजिओको २४ खेलबाट ५६ अंक छ ।


















