बारा – बाराका पत्रकार वीरेन्द्र साहको हत्याका मुख्य योजनाकार कु्न्दन फौजदार पक्राउ परेका छन् ।
करिव १२ वर्षदेखि फरार सूचिमा रहेका फौजदारलाई गएराति २ बजे बारागाढी गाउँपालिकास्थित उनकै घरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएका छन् ।
बाराका प्रहरी उपरीक्षक कृष्णप्रसाद पगेनीले निरन्तरको प्रयासपछि फौजदारलाई पक्राउ गर्न सफल भएको जनाए ।
साहको हत्यापछि फौजदार भागेका थिए । पगेनीका अनुसार प्रहरीको चौथों प्रयासमा फौजदार पक्राउ परेका हुन् । साहको हत्यामा ५ जना संलग्न भएको र मुख्य योजनाकार फौजदार रहेको पगेनीले जनाए । फौजदार अदालतमा हाजीर नभएकाले उनको मुद्दा मुल्तवीमा थियो ।
पत्रकार साहलाई २०६४ साल असोज १८ गते बाराको पिपरा बजारबाट अपहरणपछि हत्या गरिएको थियो ।


















