रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण चाँडै हुने

212

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुरातत्व विभागलाई ललितपुर महानगरपालिकामा पठाउनु भनी दुई महिनाअघि लेखेको रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माण विषयक उपभोक्ता समिति गठन गर्ने पत्र यही फागुन १९ गते प्राप्त भएको छ ।

प्राधिकरणले लेखेको पत्र महानगरपालिका आउन ढिलाइ भएसँगै समिति गठन गरी काम अघि बढाउन अन्योल परेको नगर प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । उनका अनुसार, ‘केही दिनअघि मात्र हामीले प्राधिकरणबाट लेखिएको समिति गठन गर्ने पत्र हात पारेका छौं । पत्रमा वडा नं २२ का वडाध्यक्ष बोलाएर वडा समितिमार्फत रातो मच्छिन्द्रनाथ पुनर्निर्माणका लागि समिति गठन गर्नु भनेको छ, गत शनिबार मच्छिन्द्रनाथ मन्दिर पुर्ननिर्माणका लागि पुरातत्वविद्सहित यस विषयको अध्ययन तथा अवलोकन गर्न हामी गर्यौ ।’

आगामी शनिबार बुङमती गएर मन्दिर पुनर्निर्माण विषयक छलफल गरी काम अघि बढाउने योजना तयार गरिरहेको महर्जनले जनाए । सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम मन्दिर पुनःनिर्माणका लागि ठेक्कापट्टा गर्दा चाहेको गुणस्तर पाउन सकिँदैन ।

मन्दिरको उचित गुणस्तर कायम राख्न पाटन दरबार सङ्ग्रहालय निर्माण गर्ने समूहको प्रमुख, प्राधिकरण तथा पुरातत्वक विभागका प्रतिनिधिलगायत ३२ पानेजु सङ्घ र स्थानीयवासी राखेर छलफल गर्ने निर्णयमा महानगरपालिका पुगिसकेको महर्जनले जानकारी दिए ।

सो मन्दिर पुनःनिर्माणका लागि प्राधिकरणले सम्पूर्ण आर्थिक सहयोग गर्ने भएको छ । ०७२ को गोरखा भूकम्प गएको लगभग पाँच वर्षपछि मच्छिन्द्रनाथ मन्दिरले पुनःनिर्माणको गति लिने भएको छ । मन्दिर पुनःनिर्माणका लागि तीन वर्ष पहिले जिम्मा लिएको श्रीलङ्का सरकारले विगतका ठेकेदार कम्पनीसँग असमझदारी भएपछि गत डिसेम्बरदेखि हात झिकेको हुँदा यो अन्योलमा परेको थियो ।

मन्दिर पुनःनिर्माणमा पार्टीगत हिसाबले नभई समाजमा वास्तविक योगदान गर्न चाहने व्यक्तिलाई छनोट गरी समिति गठन गरिने वडाध्यक्ष अम्बिरराज शाक्यले बताए । ‘मन्दिर पुनःनिर्माणमा कमाइखाने भाँडो बनाउने गरी काम गर्ने जिम्मा कसैलाई पनि दिइने छैन’, उनले भने । बुङ्मतीको मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माणमा अब ठेक्कापट्टा हुने छैन ।’ मच्छिन्द्रनाथ पुनर्निर्माणमा परेको सहयोग गर्ने विभागका प्रमुख इञ्जिनियर सम्पत घिमिरेले सुनाए ।

रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here