प्रदेश २ मा निर्वाचनका लागि कार्यविधि तयार

333

काठमाडाैं – प्रदेश २ को नाम र राजधानी तय गर्नका लागि हुने निर्वाचनसम्बन्धी कार्यविधि तय गरिएको छ।

प्रदेशसभामा सहभागी प्रमुख दलहरुका सचेतकको उपस्थितिमा निर्वाचन सम्बन्धी कार्यविधि तय गर्ने उद्देश्यले बसेको बैठकमार्फत कार्यविधि र आचार संहिता बनाएर सभामुख सरोजकुमार यादवलाई बुझाइएको छ।

नेपाली कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहाको अध्यक्षतामा बसेको बैठकले तयार पारेको कार्यविधिमा गोप्य मतदान प्रक्रिया र मतगणना लगायतका कुरा समेटिएको छ। यसका साथै मतदाताहरुले पालना गर्ने आचार संहिता समेत संवैधानिक व्यवस्था अनुसार तयार पारिएको र प्रदेशसभा सचिवालयका सचिव रंजित यादवलाई निर्वाचन अधिकृत तोकिएको राजपाका प्रमुख सचेतक परमेश्वर साहले जानकारी दिएका छन्।

शुक्रबार बस्ने बैठकमा दलहरुले राजधानी र नामका लागि दर्ता गराएको प्रस्तावमा सहमति जुटाउने प्रयास गर्ने, सहमति नजुटे सोही बैठकबाट तयार पारिएका कार्यविधि र आचार संहिता पारित गर्ने बताइएको छ। प्रमुख सचेतकहरुले तयार पारेको कार्यविधि र आचार संहिता पारित भएपछि चैत १ गते बिहान निर्वाचन गराउने प्रस्ताव समेत अगाडि बढाइने नेपाली कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहाले जानकारी दिए।

प्रदेशको स्थायी राजधानीका लागि दलहरुबीच सभामुख यादव संयोजक रहेको विशेष समितिबाट टुंगो लगाइए पनि निर्वाचन प्रक्रियाबाट नै पारित गराउने कार्य सम्पादन समितिको पछिल्लो निर्णयानुसार मतदान नै हुने भएको छ। विशेष समितिको अथक प्रयासका बीच प्रदेशको नाममा दलहरुबीच सहमति जुट्न नसकेपछि अन्ततः गोप्य मतदानबाट नै टुंगो लगाउने निर्णय गरिएको थियो।

सत्तारुढ दल मधेश प्रदेश, प्रमुख प्रतिपक्षी दल नेकपाले जानकी प्रदेश र प्रतिपक्षी कांग्रेसले मिथिला प्रदेशको प्रस्ताव दर्ता गराएका थिए। विशेष समितिको बैठकमा प्रतिपक्षी दलहरुले लचकता अपनाउँदै नेकपाले जानकी मधेश र कांग्रेसले मिथिला भोजपुरा मधेश प्रदेश राख्ने निर्णय गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here