– हुकुमबहादुर सिंह
आठ मार्च अंग्रेजी पात्रोमा प्रत्येक वर्ष आउने विश्वभरका महिलाका लागि एउटा ऐतिहासिक दिन हो । सही मानेमा यो दिन श्रमिक महिला मुक्तिको आवाज बोलेको दिन हो । तर क्रमसः यसलाई अहिले हुने खाने वर्गका महिलाका लागि एउटा रमाइलो गर्ने दिनको रूपमा उपयोग भएको छ । र प्रत्येक वर्ष आउने आठ मार्च केही महिलावादी नेतृहरूका लागि एउटा सलबलाउने दिन बन्दै आएको छ । किनभने यो दिन उनीहरूले अन्तराष्ट्रिय नारी दिवसलाई भव्यरूपले मनाउने कार्यक्रमको तयारी गरेका हुन्छन् । त्यसका लागि उनीहरूलाई दातृ निकायहरूले पैसा उपलब्ध गराउँछन्, किनभने ती संस्थाहरूमा पनि महिला अधिकारवादीहरू छन् र महिला अधिकारवादीहरूको दवावलाई उनीहरूले इन्कार गर्न सक्दैनन । त्यो रकमबाट उनीहरूले अन्तराष्ट्रिय नारी दिवसमा भव्य भोजको आयोजना गर्दछन, मन्त्रीहरू, उच्च पदस्थ कर्मचारीहरू भोजको लाइनमा लाग्छन् । ठूलठुला होटेलहरूमा महिला मुक्तिबारे गरमागरम बहस, छलफल र अन्तरक्रियात्मक कार्यक्रमहरू हुन्छन् । नारी पुरूष बराबरीका नारा लगाइन्छ । मातृसत्ता र पितृसत्ताका कुरा पनि चर्कैसँग हुन्छन् । यसरी उनीहरूका लागि प्रत्येक वर्षको आठ मार्च सकिन्छ,, अर्को ८ मार्चको प्रतिक्षा र तयारीमा । संयुक्त राष्ट्र संघले पनि यिनै वर्गका महिलाहरूका लागि उपयुक्त हुने गरी १९७५को जुनमा मेक्सिकोमा अन्तराष्ट्रिय महिला सम्मेलन गरी आठ मार्चलाई अन्तराष्ट्रिय नारी दिवस मनाउने निर्णय गरेको थियो । यो परम्परालाई अहिले विश्वभरी निरन्तरता दिइदै आएको पाइन्छ ।
तर यसको वास्तविक इतिहास के हो भने यो दिवस मनाउन थालिएको एक शताब्दी(सन्१९११)भन्दा बढी वर्ष भयो तर फरक नाम र नारामा । त्यो थियो अन्तराष्ट्रिय श्रमिक महिला दिवस । अहिले श्रमिक शब्द हटाइएको छ र भनिन्छ अन्तराष्ट्रिय महिला दिवस वा नारी दिवस । श्रमिक महिला दिवससँग क्लारा जेटकिनको नाम जोडिएको छ । तर आठ मार्चलाई अन्तराष्ट्रिय नारी दिवस मनाउने महिलावादी संस्थाहरू र व्यक्तिहरू कसैले क्लारा जेटकिनलाई सम्झने आवश्यकता ठान्दैनन् । तै पनि आठ मार्चलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउनेहरूका लागि भने क्लारा जेटकिनको नाम कहिल्यै नभुल्ने प्यारो नाम रहँदै आएको छ । अन्तराष्ट्रिय श्रमिक महिला दिवससँग जोडिएको वास्तविक इतिहास यस्तो छ ।
सन् १९०८मा अमेरिकाको न्यूयोर्क शहरमा करीब १५ हजार महिलाले विभिन्न माग राख्दै ¥याली निकालेका थिए । वास्तवमा सोही ¥यालीले नै वर्तमानको महिला(नारी) दिवसको बीज रोपेको हो । कामगर्ने समयको कटौती, उपयुक्त ज्याला, निर्वाचनमा महिलाको अधिकारलगायत माग राखी महिलाले न्यूयोर्क शहरका सडकमा ¥याली निकालेका थिए । त्यसको एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले अमेरिकामा महिला दिवस घोषणा गरेको थियो ।
त्यस्तै जर्मनकी महिला अधिकारवादी ल्करा जेटकिनले सन् १९१०मा कोपनहेगनमा आयोजित अन्तराष्ट्रिय महिला सम्मेलनका क्रममा ८ मार्चलाई अन्तराष्ट्रिय महिला दिवस मनाउने प्रस्ताव गरेकी थिइन । सम्मेलनमा १७ देशका एक सय महिला सहभागी थिए । उनको प्रस्तावलाई सबै सहभागी महिलाले सर्वसम्मत स्विकृती दिएका थिए । सुरुमा सन् १९११मा अष्ट्रिया, डेनमाकर्, जर्मनी र स्विटरलैण्डमा यो दिवस मनाइएको थियो । त्यपछि विश्वभर मनाउन थालीयो । यो वर्षको ११०औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस हो ।
को हुन त क्लारा जेटकिन ?
क्लारा जेटकिन वास्तवमा एउटा जर्मन माक्र्सवादी सिद्धान्तकार, अभियानकर्ता (एक्टीभिष्ट), र महिला अधिकारका लागि वोकालत गर्ने एक जना महिला थिइन् । सन् १९११मा उनले पहिलो अन्तराष्ट्रिय महिला दिवसको आयोजना गरेकी थिइन् । १९१७सम्म उनी जर्मनीको समाजवादी प्रजातान्त्रिक पार्टीमा सक्रिय थिइन् । अनि त्यसपछि उनले जर्मनको स्वतन्त्र समाजवादी प्रजातान्त्रिक पार्टीको सबैभन्दा उग्रवामपन्थी शाखा, स्पार्टावादी संघमा सामेल भइन्, जो पछि गएर जर्मन कम्युनिष्ट पार्टी बन्यो । जसबाट उनले १९२०देखि १९३३सम्म वोइमर गणतन्त्रका वेला त्यहाँको संसद राइखस्टांगमा प्रतिनिधित्व गरिन् ।
जीवन र काम
क्लारा जेटकिनको जन्म एउटा किसान परिवारमा भएको थियो । उनका बाउ एक जना स्कुल माष्टर थिए । प्रोटेष्टेन्ट पादरी उनकी आमा एउटा मध्यवर्गीय शिक्षित परिवारकी थिइन् । १८७४देखि उनी महिला आन्दोलन र मजदुर आन्दोलनमा लागिन । १८७८मा उनी समाजवादी श्रमिक पार्टीमा सम्मिलित भइन् । यो पार्टी १८७५मा लाशालको पार्टी, बेबेल र विल्हेमको पार्टी मिलेर बनेको पार्टी थियो । १८९०मा यसको नाम जर्मनको समाजवादी प्रजातान्त्रिक दल बन्यो । १८७८मा बिष्मार्कले जर्मनमा सामाजिक काममाथि रोक लगाएपछि जेटकिनले १८८२मा जर्मन छाडेर जुरिच अनि पेरिसमा निर्वासनमा वस्न थालिन । पेरिसमा वस्दा उनले अन्तराष्ट्रिय समाजवादी समूहको स्थापनामा एउटा महत्वपूर्ण भूमिका खेलिन । उनले आफनो रसियन वामपन्थी प्रेमी वोसिप जेटकिनको थरबाट जेटकिन राखिन, जसबाट उनका दुइभाइ छोरा कोष्टजा र मेक्सीम थिए । वोसिप जेटकिनको मृत्यु १८८९मा भयो । पछि जेटकिनले आफूभन्दा १८वर्ष कान्छा एक जना कलाकार जर्ज फ्रेडरिक जुन्डेलसंग १८९९देखि १९२८सम्म लिभिंग टुगेदरका रूपमा रहिन ।
जेटकिन र रोजा लक्जमवर्ग
समाजवादी प्रजातान्त्रिक पार्टीमा जेटकिनले रोजा लक्जमवर्गसंग मिलेर जो पार्टीभित्रका अति वामपन्थीको प्रतिनिधित्व गर्दथे, २०सौ शताब्दीको सुरूमा संशोधनवादसंगको बहसमा उनले रोजा लक्जमवर्गसंग मिलेर एडवार्ड बन्र्सटिको सुधारवादी थेसिजमाथि आक्रमण गरिन । जेटकिन महिला राजनीति, जसमा समान अवसरहरू र महिलाका दुखदर्दहरूका लागि संघर्ष थियो, उनले जर्मनमा समाजीक—प्रजातान्त्रिक महिला आन्दोलनको विकास गरिन । १८९१देखि १९१७सम्र्म समानता«’ भन्ने महिला पत्रिका सम्पादन गरिन । १९०७मा समाजवादी प्रजातान्त्रिक पार्टीको महिला अफिस जो भरखरै स्थापना गरिएको थियो, त्यसको नेता बनिन । उनले १९१०को ८ मार्चमा पहिलो अन्तराष्ट्रिय महिला दिनको सुरू कोपनहेगनमा गरिन ।
पहिलो विश्वयुद्धको समयमा, कार्ल लिव्खनेक्ट, रोजा र समाजवादी प्रजातान्त्रिक दलका अन्य प्रभावशाली राजनेताहरूसंग मिलेर काम गरिन । १९१५मा जेटकिनले बर्लिनमा युद्ध विरोधी अन्तराष्ट्रिय समाजवादी महिला सम्मेलन गरिन । उनको युद्ध विरोधी विचारहरूलाई लिएर अनेक पटक उनी गिरफतार भइन् । उनले १९२०मा ‘माहिलाको प्रश्न’बारेमा लेनिनको अन्तरवार्ता लिएकी थिइन । १९२१ देखि १९३३सम्म उनी कम्युनिष्ट अन्तराष्ट्रिय(कमीनटर्न)को कार्यकारीणी समितीमा रहिन । जव एडल्फ हिटलर र उसको राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी सत्तामा गयो, उसले जर्मनको कम्युनिष्ट पार्टीमाथि प्रतिवन्ध लगायो । १९३३मा रेइस्र्तागलाई खतम पा¥यो । उनी अन्तिम समयका लागि निर्वासनमा गइन । यसपटक उनी सोभियत संघमा गइन र त्यहाँ उनले उनको अन्तिम समय १९३३ सम्म रहिन र ७६वर्षको उमेरमा उनको निधन भयो । उनको पार्थिव शरीरलाई मस्कोको क्रेमलीनमा गाडियो । एउटा के चाही सत्य हो भने महिला समानता र महिला अधिकारको आवाज उठाएको शताब्दी विति सक्दा पनि महिला प्रति गरिने सबै प्रकारका विभेदको उन्मूलनका दिशामा विश्व अहिले पनि वामे मात्रै सर्दैछ । – जनधारणा साप्ताहिक

















