विदेशबाट आउनेहरूको निगरानी गर्न नेकपा तिलोत्तमा नगर कमिटीको आग्रह

194

रुपन्देही – विदेशबाट आएका नागरिकको निगरानी र पहिचान गर्ने काममा सहयोग पुर्‍याउन नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटी रुपन्देहीले कार्यकर्तालाई आग्रह गरेको छ। कोरोना संक्रमण हुनबाट जोगिने उपायहरूको व्यापक प्रचारप्रसार गर्नुपर्नेमा जोड दिंदै नेकपा तिलोत्तमाले विभिन्न मुलुकहरूबाट आउनेहरूको पहिचान गरी निगरानीमा राख्ने, आवश्यकताअनुसार क्वारेन्टाइन र आइसोलेसनमा पठाउने काममा सहयोग पुर्‍याउन निर्देशन दिइएको छ।

नेकपाले सरकारद्वारा घोषित लकडाउनको पालन गर्न र यसका लागि सहयोग पुर्‍याउन पनि आग्रह गरेको छ। नेकपा तिलोत्तमा नगर कमिटीले शनिबार भिडियो कन्फ्रेन्समार्फत बैठक गरी कार्यकर्ताका नाममा सर्कुलर जारी गर्दै यस्तो आग्रह गरेको हो। नेकपा नगर अध्यक्ष मोहन चापागाईं र सचिव लक्ष्मण खनालद्वारा जारी सर्कुलरमा आफू सुरक्षित रहेर कमजोर नागरिकका लागि सहयोग वितरण तथा समस्यामा परेकाहरूको सहयोगमा स्वयंसेवकका रूपमा खट्न पनि आह्वान गरिएको छ।

महामारीविरूद्वको लडाइँमा सरकार र नागरिक एक भई सकारात्मक भूमिकामा उभिनुपर्नेमा जोड दिंदै नेकपाले सबै प्रकारका भ्रमहरू चिर्दै बलियो आत्मविश्वास र अनुशासनको पालनासहित अघि बढ्न उत्प्रेरित गर्ने काममा दृढतापूर्वक लाग्न अनुरोध गरेको छ। नागरिकको हरेक अप्ठेरोमा पार्टी कमिटीसँगै रहेको र संघीय, प्रदेश र स्थानीय सरकारहरू साथमा रहेको नेकपा तिलोत्तमाले उल्लेख गरेको छ।