काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोरोना भाइरस संक्रमणको महामारीका बेला उच्च मनोबलका साथ काम गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् ।
कुनै पनि चिकित्सक निश्चित भत्ता भन्दा मानवीय भावनाले बिरामीको उपचारमा अभिप्रेरित हुने भन्नै उनले चिकित्सकको मानवीय भावना, समर्पण र साहसले नै कोरोना भाइरसको महामारीबाट बाहिर निस्कन सक्ने जनाएका छन् ।
उनले स्वास्थ्यकर्मीका लागि अनिवार्य पीपीईको प्रबन्ध समयमै गर्न सरकारलाई आग्रह गरेका छन् । ‘यथासीघ्र देशब्यापी रूपमा पीपीई पुर्याएर सम्भावित संक्रमितको परीक्षण एवं संक्रमितको उपचारमा स्वास्थ्कर्मीको मनोबल उच्च बनाउन म सरकारसंग अनुरोध गर्दछु’ कोइरालाले भनेका छन् ।
कोरोना भाइरस रोकथामका लागि यसको धेरै भन्दा धेरै परीक्षण हुनुपर्ने भन्दै उनले सातै प्रदेशमा परीक्षणको व्यवस्था मिलाउन ढिलाइ नगर्न आग्रह गरेका छन् । नेपालमा कोरोना संक्रमित व्यक्ति घुलमिल भएको परिवारका सदस्य, छरछिमेकी एवं ब्यक्तिगत साथी समूहको तत्काल परीक्षणको व्यवस्था मिलाउन पनि कोइरालाले आग्रह गरेका छन् ।
संक्रमणको आशंका हुनासाथ घरबाटै सावधानीपूर्वक परीक्षण केन्द्रमा पुर्याउने ब्यवस्था गर्न पनि कोइरालाले सरकारलाई आग्रह गरेका छन् ।


















